

भारतीय मिडियामा दीपाश्रीको तस्बिर दुरुपयोग !

काठमाडौं- केही भारतीय मिडियामा केही वर्षअघि भारतमा हत्या भएकी नेपाली मोडल अञ्जना लामासँग सम्बन्धित समाचारहरू आउने क्रम जारी छ । यद्यपि, ती समाचारमा नेपाली अभिनेत्री दीपाश्री निरौलाको तस्विर गलत रूपमा प्रयोग गरिएको भेटिएको छ ।
दैनिक भाष्कर लगायतका केही भारतीय मिडियाले अञ्जना लामाको हत्या घटनामा दीपाश्रीको फोटो प्रयोग गरी उनलाई अञ्जनाकी जेठानीको रुपमा देखाएका छन् । यसले दीपाश्रीलाई व्यक्तिगत र व्यावसायिक रूपमा हैरानीमा पारिरहेको छ ।
दीपाश्रीले आफ्नो तस्बिर गलत रूपमा प्रयोग गरिएको भन्दै त्यससँग उनको कुनै सम्बन्ध नरहेको स्पष्ट पारिन् । उनले भनिन्, “यो फोटोलाई गलतरुपमा प्रयोग गरिएको छ । यससँग मेरो लेनादेना छैन । म सबैलाई भ्रममा नपर्न आग्रह गर्छु ।”
अभिनेता तथा निर्माता दीपकराज गिरीले पनि उक्त तस्बिर ‘छक्का पञ्जा ३’ को प्रचार प्रसारको समयमा फ्यानसँग खिचिएको भएको बताउँदै, भारतीय मिडियाले यसलाई दुरुपयोग गरेको बताए । उनले भने, “दैनिक भाष्कर जस्ता मिडियाले पनि यस्तो गलत तस्बिर कसरी प्रयोग गर्न सक्छन् ?”
यसअघि अञ्जना लामाको हत्या घटनाले भारतीय मिडियामा चर्चा पाएको थियो, तर दीपाश्री निरौलाको तस्विरको गलत प्रयोगले यस घटनामा अनावश्यक विवाद उत्पन्न भएको छ ।
यसप्रति दीपाश्रीले समेत आफ्नो सफाई दिइसकेकी छिन् र सही जानकारीमाथि ध्यान दिन सबैमा आग्रह गरेकी छिन् ।

