७ दिनपछि सार्वजनिक हुनेछ आइपीएलकाे नयाँ तालिका !


काठमाडाैं-  भारत र पाकिस्तानबीचको बढ्दो तनावको कारण भारतीय क्रिकेट बोर्डले इन्डियन प्रिमियर लिग (आइपीएल) को हालको सिजन  तत्काल एक साता स्थगित गर्ने निर्णय गरेको छ। बोर्डका उपाध्यक्ष राजीव शुक्लाले शुक्रबार यसबारे जानकारी दिँदै भने, “आईपीएल हाललाई एक साता स्थगित गरिएको छ। नयाँ तालिका सात दिनपछि सार्वजनिक गरिनेछ।”

यसबीच, सञ्चारमाध्यमको रिपोर्टअनुसार सबै विदेशी खेलाडीहरूलाई आफ्नै देश फर्कन निर्देशन दिइएको छ। नयाँ तालिका जारी भएपछि उनीहरूलाई पुनः जानकारी दिइनेछ। हालसम्म लिग चरणका १२ खेल र ४ वटा प्लेअफ खेलहरू बाँकी छन्। फाइनल खेल मे २५ मा हुने तालिका थियो।

बिहीबार हिमाचल प्रदेशको धर्मशालामा पंजाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेलको क्रममा १०.१ ओभरसम्म खेल सकिएपछि सुरक्षा कारणले खेल रोकिएको थियो। पाकिस्तानले मे ८ को राती जम्मू, पंजाब र राजस्थानको सीमामा मिसाइल तथा ड्रोन आक्रमण गरेपछि स्थिति तनावपूर्ण बनेको थियो।

खेल चलिरहेका बेला स्टेडियमको बत्ती बन्द गरिएको थियो र दर्शकहरूलाई सुरक्षित रुपमा घर पठाइएको थियो। युद्धको सम्भावनालाई ध्यानमा राख्दै धर्मशालामा ब्ल्याकआउट गरिएको र खेल रद्द गरिएको हो। यो प्रतियोगिता लिग चरणको ५८औं खेल थियो।

 

प्रतिक्रिया