

प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, के भयाे छलफल ?

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेट गरेका छन्।
भेटका क्रममा राजदूत श्रीवास्तवले भारतको पहलगाममा २२ अप्रिलमा भएको आतंकवादी आक्रमणपछि भारत–पाकिस्तानबीच उत्पन्न तनाव र पछिल्लो घटनाक्रमबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका हुन्।
श्रीवास्तवले आक्रमणपछि भारतले प्रतिकारस्वरूप कारबाही गरे पनि ‘जेट हमला’ भएको भन्ने प्रचार असत्य रहेको प्रस्ट पारे। उनले नेपाल सरकारले घटनासम्बन्धी जारी गरेको आधिकारिक वक्तव्यप्रति आभार व्यक्त गरे।
प्रधानमन्त्री ओलीले नेपाल सधैं विश्व शान्तिको पक्षमा रहेको भन्दै आतंकवादको कडा निन्दा गरे। उनले नेपालले कुनै पनि द्वन्द्वरत पक्षलाई छिमेकी राष्ट्रविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने स्पष्ट पारे।

