काठमाडौंको बेबीलोन स्कुलमा किशोरीमाथि यौन दुर्व्यवहार, पीडितलाई मिलापत्र गर्न दबाब


काठमाडौं-  शान्तिनगरस्थित बेबीलोन बोर्डिङ स्कुलका एक कर्मचारीमाथि बाल यौन दुर्व्यवहारको गम्भीर आरोप लागेकाे छ।  विद्यालयको परीक्षा शाखामा कार्यरत ५४ वर्षीय टीकाप्रसाद सुवेदीले १४ वर्षीया किशोरीमाथि पटक–पटक यौन दुर्व्यवहार गरेको आरोप लागेको हाे।

पीडितकी आमाले दिएको किटानी जाहेरीका आधारमा सुवेदीलाई नयाँ बानेश्वर प्रहरी वृत्तले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

तर घटनापछि विद्यालयको व्यवहार झन् चिन्ताजनक देखिएको छ। पीडित पक्षले विद्यालयले उल्टै गुनासो गर्ने विद्यार्थीलाई टर्मिनेट गर्ने धम्की दिई मिलापत्रमा दबाब दिएको गम्भीर आरोप लगाएका छन्। शुक्रबार विद्यालयका प्रिन्सिपल, चेयरम्यानसहित १०–१२ जना नेतृत्व टोलीको उपस्थितिमा कानुनी दबाबमा मिलापत्र गर्न बाध्य पारिएको पीडितकी आमाले बताएकी छन्।

अझ चिन्ताजनक कुरा के छ भने विद्यालयले मिलापत्रको आरोप अस्वीकार गर्दै उल्टै दुई वर्ष पुरानो व्यक्तिगत विवादलाई मुद्दासँग जोड्ने प्रयास गरेको छ। अरु विद्यार्थीहरूलाई पनि यौन दुर्व्यवहार गरेको दाबी जाहेरीमा गरिएको छ। केही प्रमाणका रूपमा स्क्रिनसटहरू समेत बुझाइएको जनाइएको छ।

कानुनी रूपमा सुवेदीमाथि मुलुकी अपराध संहिता २०७४ को दफा २२५ अन्तर्गत अनुसन्धान भइरहेको छ। दोषी ठहर भएमा उनलाई तीन वर्षसम्मको कैद र ३० हजार रुपैयाँ जरिवाना हुनसक्ने व्यवस्था छ।

 

 

प्रतिक्रिया