

सुन तस्करसँग डीएसपी गगन थापाको हिमचिम ? सरुवा हुनेबित्तिकै पक्राउ परे संगी
भीम रावलसँग पनि कनेक्सन ?

काठमाडाैं- भारतबाट चोरी गरी नेपाल भित्र्याइएको सुनको कारोबारमा संलग्न गिरोहसँग निकट सम्बन्ध रहेको आशंकामा कैलालीको अत्तरियाका व्यवसायी ज्ञानेन्द्र खड्का प्रहरीको फन्दामा परेका छन्। उनीमाथि अनुसन्धान शुरु हुनेबित्तिकै पुराना सम्बन्धहरू समेत सार्वजनिक हुन थालेका छन्।
प्रहरी स्रोतका अनुसार खड्काले लामो समयदेखि अत्तरियामा सुनचाँदीको कारोबारको आडमा अवैध सुन ओसारपसारमा संलग्न गिरोहसँग समन्वय गर्दै आएका थिए। अझै चाखलाग्दो कुरा के छ भने, खड्काको इलाका प्रहरी कार्यालय मालाखेतीका तत्कालीन प्रमुख डीएसपी गगन (गंगा) बहादुर थापासँग निकट सम्बन्ध रहेको खुलेको छ।
एक प्रहरी अधिकारीका अनुसार खड्काले थापालाई व्यक्तिगत सवारीमा घुमाउने, स्वागत-सत्कार गर्ने र विभिन्न निजी सम्बन्धमार्फत निकटता बनाउँदै प्रहरी प्रशासनमा प्रभाव जमाएका थिए। यही सम्बन्धका कारण लामो समयसम्म खड्काको गतिविधिमा आँखा नलगाइएको प्रहरी वृत्तमै चर्चा छ।
तर, डीएसपी थापा सरुवा भएसँगै खड्काविरुद्ध अनुसन्धान तीव्र बनाइएको थियो। थापाको स्थानमा नयाँ प्रमुख नआउँदै इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले खड्कालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएको हो।
नेकपा (एमाले) बाट निष्कासित पूर्वउपाध्यक्ष भीम रावलसँग पनि उनको उठबस हुने गरेको खुलासा भएको छ। मातृभूमि जागरण अभियान चलाउँदै गरेका रावलसँग उनका थुप्रै भेटघाट भएका तस्विरहरु खड्काले नै सार्वजनिक गरेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख डीएसपी नवीनराज बुढाथोकीले खड्काको पक्राउ पुष्टि गर्दै हाल अनुसन्धान भइरहेकोले विस्तृत विवरण दिन नसकिने बताए।
यो प्रकरणमा धनगढीका दुई जना सुनचाँदी व्यवसायीसमेत नियन्त्रणमा लिइएका छन्। यद्यपि उनीहरूको नाम हालसम्म गोप्य राखिएको छ।
प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख एसएसपी प्रकाश मल्लको अगुवाइमा भारत–नेपालबीच सक्रिय सुन तस्करी सञ्जालमाथि गहिरो अनुसन्धान सुरु गरिएको छ। प्रहरीका अनुसार यो गिरोह भारतमा चोरी गरिएको सुन नेपाल भित्र्याएर विभिन्न सञ्जालमार्फत कारोबार गरिरहेको छ।
तर, नेपाल–भारतबीच कानुनी सन्धीको अभावका कारण मुद्दालाई अगाडि बढाउन चुनौती रहेको प्रहरी स्रोतको भनाइ छ। यद्यपि, सुन तस्करीलाई राष्ट्रिय सुरक्षासँग जोडिएको गम्भीर मुद्दा मानी अनुसन्धान उच्च तहबाट अघि बढाइएको छ।
अहिले प्रारम्भिक अनुसन्धानपछि खड्कालाई कैलाली जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।

