

श्रीमतीको हत्या गराउन ४ लाखको सुपारी दिएका कँडेल आफैं मारिए

काठमाडाैं- धादिङको गजुरी गाउँपालिका–२ डुँडेठाँटीका ६० वर्षीय चूडामणि कँडेलको हत्या भएको घटनाको रहस्य खुल्दै गएको छ। गत वर्षको चैत २७ गते आफ्नै घरको अट्याच ट्वाइलेट र बाथरुमभित्र डोरीले घाँटी कसिएको अवस्थामा कँडेलको शव फेला परेको थियो।
प्रहरी अनुसन्धानले खुलासा गरेअनुसार कँडेलले श्रीमती सुस्मिता सिलवालको हत्या गराउने योजनासहित ४ लाख रुपैयाँ सुपारी दिएका थिए। तर, पटक–पटकको प्रयासमा पनि योजना सफल नभएपछि उनले रकम फिर्ता मागे। सोही कारण रिसाएका सुपारी किलरहरूले कँडेलकै हत्या गरेका हुन्।
घटनासँग जोडिएर मकवानपुर राक्सिराङका अक्कलबहादुर प्रजा (३६), पृथलाल थिङ (२५) र सञ्चलाल मुक्तान (२७) पक्राउ परेका छन्। अक्कलबहादुरलाई वैशाख ३ गते गजुरीबाट, थिङ र मुक्तानलाई वैशाख १६ गते मनहरीबाट पक्राउ गरिएको हो।
उनीहरूबाट घटनामा प्रयोग गरिएको डोरी, कोदालो, १ लाख रुपैयाँ नगद, सुपारीबाट किनिएको कपडा र जुत्ता तथा मृतकको मोबाइलको टुक्रा बरामद गरिएको छ।
जिल्ला अदालत धादिङबाट उनीहरूमाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि म्याद थप गरिएको छ।

