
रेशम चौधरीलाई कारागार पठाउने महिमानविरुद्ध ४ दिन म्याद थप
काठमाडौं — सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। बुधबार पक्राउ परेका विष्टलाई शुक्रबार अदालतमा उपस्थित गराउँदा अनुसन्धानका लागि चार दिनको म्याद थपिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए।
विष्टले सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग गर्दै डिल्लीबजार कारागारलाई रेशम चौधरीलाई पक्राउ गर्न निर्देशन दिँदै अनधिकृत पत्र पठाएका थिए। उक्त पत्रको आधारमा चौधरीलाई पक्राउ गरेर कारागारमा राखिएको थियो। तर सर्वोच्चले उक्त पत्र अनधिकृत भएको भन्दै अर्को पत्रमार्फत चौधरीको रिहाइ आदेश दिएपछि करिब साढे चार घण्टामै उनी थुनामुक्त भएका थिए।
महिमानविरुद्ध मुलुकी फौजदारी अपराध संहिताअन्तर्गत तीन धारामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दफा ८४ अनुसार झुट्टा जानकारी दिन नहुने, दफा ८६ अनुसार राष्ट्रसेवकलाई मद्दत गर्न इन्कार गर्न नहुने र दफा २७६ अनुसार कीर्ते गर्न नपाइने व्यवस्था छ। विष्टले कीर्ते गरेर अनधिकृत पत्र बनाएर दुरुपयोग गरेको आरोपमा अनुसन्धान भइरहेको छ।
उक्त पत्र आफैं लिएर प्रहरीमा पुगेका विष्टलाई तत्काल नियन्त्रणमा लिइएको थियो। पत्र अनधिकृत ठहरिएपछि चौधरी रिहा भए भने विष्ट पक्राउ परेका थिए।



कागजपत्र |
