वास्तविक किसानलाई मात्र कृषि अनुदान


काठमाडौं- सरकारले कृषि क्षेत्रमा दिइने अनुदानमा वास्तविक किसानको पहुँच पुर्‍याउने जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आर्थिक वर्ष २०८२।८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि अनुदानको लाभ वास्तविक किसानले मात्र पाउने व्यवस्था मिलाउने घोषणा गरे।

सरकारले पछिल्ला पाँच वर्षमा ठूलो रकम अनुदानमा खर्चिए पनि कृषि जन्य उत्पादन र उत्पादकत्व बढ्न सकेको छैन। कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका विभिन्न निकायमार्फत वर्षेनि अर्बौँ रकम अनुदानका रूपमा प्रवाह हुँदै आए पनि अपेक्षाकृत उपलब्धि हुन नसकेको निष्कर्ष सरकारी समितिले निकालेको थियो।

कृषि अनुदानको रकम दुरुपयोग भएको आशंका गरी गर्दै कारबाही गरिने कृषिमन्त्री रामनाथ अधिकारीले बताएका थिए। सरकारले रासायनिक मल, बाली तथा पशु धन बिमा, उखु कृषकहरूलाई प्रोत्साहन अनुदान, विशेष कृषि उत्पादन कार्यक्रम, विभिन्न बालीमा न्यूनतम समर्थन मूल्यमार्फत सहयोग, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लगायतका कार्यक्रममार्फत पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड रुपैयाँ कृषि अनुदान दिएको जनाएको छ तर यसको उपलब्धि अपेक्षाकृत नभएपछि अनुदान वास्तविक किसानसम्म नपुगेको बताइन्छ।

दुग्धजन्य पदार्थ, ऊन र मासुजन्य वस्तुको उत्पादन र निर्यात प्रवर्द्धन गरिने नीति लिएको सरकारले पशुपन्छी जन्य रोग नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन, नेपालका लागि आवश्यक पर्ने खोप उत्पादन गर्न प्रोत्साहन गरिने जनाएको छ।

यसैगरी कृषि वीमाको दायरा विस्तार गरिने, विपन्न किसानलाई सहुलियतपूर्ण ऋण र परिचयपत्र सहित सेवा सुविधा दिइने उल्लेख गरेको छ।

प्रतिक्रिया