काठमाडौंमा पुलमुनी पिसाब गर्दा गाली, त्यसकै रिसमा हत्या !


काठमाडौं- काठमाडौं महानगरपालिका–२० अन्तर्गत परोपकार क्षेत्रको पुलमुनी एक व्यक्तिको धारिलो हतियार प्रहारबाट हत्या भएको छ। घटनापछि फरार रहेका आरोपी आशिष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

हत्या भएका व्यक्ति काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१० निवासी ४२ वर्षीय विक्रम तामाङ रहेको खुलेको छ। उनी वैशाख १६ गते बिहान करिब साढे ११ बजे गम्भीर घाइते अवस्थामा भेटिएका थिए। पेटदेखि छातीसम्म चक्कु प्रहार गरी घाइते बनाइएका तामाङलाई तत्काल उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो। तर उपचारको क्रममा सोही दिन दिउँसो १२:२५ बजे उनको मृत्यु भएको थियो।

प्रहरीका अनुसार घटनापछि  अनुसन्धान सुरु गरिएको थियो। विभिन्न प्रविधि र विधिको प्रयोग गरी अनुसन्धान गर्दा घटनामा संलग्न व्यक्ति सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–७ स्थायी घर भई हाल काठमाडौंको डल्लुमा बस्दै आएका ३२ वर्षीय आशिष श्रेष्ठ रहेको पुष्टि भएको हो। उनलाई प्रहरीले पक्राउ गरी जनसेवा प्रहरी वृत्तमा बुझाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीका अनुसार प्रारम्भिक अनुसन्धानमा तामाङ र श्रेष्ठबीच सामान्य विवाद र गाली गलौजको कारण झडप भएको पाइएको छ। बयानमा श्रेष्ठले आफूहरू सामान्य श्रमिक रहेको र बारम्बार गाली गरेको झोकमा विक्रमलाई चक्कु प्रहार गरेको बताएका छन्। ‘पुलमुनी पिसाब गर्दा गाली गरिरहन्थ्यो। त्यसदिन भेटेर हान्दिएँ। हानेर म भागेँ,’ श्रेष्ठले प्रहरीलाई दिएको बयानमा उल्लेख छ।

प्रहरीले घटनामा प्रयोग गरिएको चक्कु, मोबाइल फोन, झोला, सर्ट, पाइन्ट, जुत्ता र माक्स बरामद गरेको जनाएको छ। श्रेष्ठविरुद्ध ज्यानसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ।

 

प्रतिक्रिया