प्रकृतिको न्याय खोज्दै सडकमा उत्रिएकी प्रिसा आज न्यायकै प्रतीक्षामा


वीरगञ्ज — भारतीय शिक्षालयमा नेपाली विद्यार्थीको मृत्युका घटनाले पुनः गम्भीर प्रश्नहरू उठाएका छन् । दुई महिना अगाडि बुटवलकी प्रकृति लम्सालको रहस्यमय मृत्युपछि उठेको आक्रोश सेलाउन नपाउँदै, त्यही कलेज, ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा फेरि एक नेपाली छात्रा प्रिसा साह मृत फेला परेकी छन् ।

वीरगञ्ज-१५ की अस्थायी बासिन्दा प्रिसा साह स्नातक तहको पहिलो वर्षमा अध्ययनरत थिइन् । बिहीबार साँझ उनको शव होस्टेलको कोठामा फेला परेको हो। उनले त्यही दिन दिउँसो परिवारसँग फोनमा घर फर्कने तयारीको कुरा गरेकी थिइन्। तर त्यो संवाद नै अन्तिम बन्यो। त्यो रात ८:१० बजे ओडिसा प्रहरीले उनको मृत्युवारे जानकारी पायो।

यस घटनाले कलेज प्रशासनको निगरानी प्रणाली र नेपाली विद्यार्थी सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ। अघिल्लो घटनामा पनि विद्यार्थीले विरोध प्रदर्शन गरेका थिए। त्यतिबेला प्रिसा आफैं प्रकृतिको न्यायका निम्ति सडकमा उत्रिएकी थिइन्। दुर्भाग्यवश, आज उनी स्वयं न्यायको पर्खाइमा छिन्।

राज्य सरकारले प्रारम्भिक छानबिन थालेको जनाएको छ। तर नेपाली विद्यार्थी तथा अभिभावकमाझ छानबिनको निष्पक्षता र प्रभावकारिताप्रति शंका बढ्दो छ। नेपाली दूतावासले यसपटक चनाखो रहने बताएको छ।

विद्यार्थी सङ्गठन, अभिभावक तथा नेपाली समुदायले भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि दीर्घकालीन समाधान र स्पष्ट निगरानी संयन्त्रको माग गरेका छन्।

प्रतिक्रिया