

बबीसिंहकाे ‘पेस्तोल डान्स’ भाइरल, भन्छिन्– महिलाले रमाइलो गरे आकाश खस्छ ?

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा), नेपालकी केन्द्रीय सदस्य डा. बबीसिंह यादव हाल एक भाइरल भिडियोका कारण विवादमा परेकी छन् । हरियो साडीमा सजिएर नाच्दै गर्दा पेस्तोल पड्काएको देखिने उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेकाे छ ।
भिडियोमा यादवले पारिवारिक जमघटमा नाच्ने क्रममा आकाशतर्फ ताकेर फायर गरेको देखिन्छ । घटनापछि डा. यादवले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै भिडियो भारतको सीमावर्ती सहर सीतामढीमा भएको वैवाहिक समारोहको भएको बताएकी छन् । उनले पेस्तोल ‘रेन्जर टोय’ नामक खेलौना भएको र उक्त फायर केवल रमाइलोका लागि गरिएको दाबी गरेकी छन् । “महिलाले रमाइलो गर्दा पितृसत्तात्मक सोचले आकाश खसेझैं व्याख्या गरिनु दुर्भाग्यपूर्ण हो,” उनले भनेकी छन् ।
उनले उक्त भिडियो एक हप्ता अगाडि टिकटकमा आफैंले पोस्ट गरेकी थिइन् । तर भाइरल भएपछि विवाद बढ्ने डरले हटाएको उनले बताइन् । यद्यपि, अरू सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भिडियो पुनः पोस्ट गरेपछि झन् भाइरल बनाएको आरोप उनले लगाएकी छन् । साथै, भिडियो अनुमतिबिनै पोस्ट गरिएको भन्दै उनले युट्युब पत्रकारहरूमाथि पनि आचारसंहिताविपरीतको कार्य गरेको भन्दै आपत्ति जनाएकी छन् ।
भिडियोले सामाजिक सञ्जालमा धेरै प्रश्न जन्माएपछि जिल्ला प्रहरी कार्यालय, सप्तरीले डा. यादवलाई सोधपुछका लागि बोलाएको जनाएको छ । प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार पेस्तोल वास्तविक हो वा खेलौना भन्नेबारे छानबिन भइरहेको छ । “बुझ्दा मात्रै के हो भन्ने पत्ता लाग्छ,” उनले भने ।
डा. यादव जसपा नेपालका उपाध्यक्ष तथा पूर्वमन्त्री मृगेन्द्रसिंह यादवकी छोरी तथा बोदेबरसाइन नगरपालिकाका मेयर आतेससिंह यादवकी बहिनी हुन् ।

