तीनकुने घटनापछि पक्राउ परेका थप १३ जना रिहा


काठमाडौं — तीनकुनेमा भएको राजावादी प्रदर्शनको सिलसिलामा पक्राउ परेका थप १३ व्यक्तिलाई हाजिरी जमानीमा रिहा गरिएको छ । यससँगै हालसम्म हिरासतबाट रिहा हुनेको संख्या २१ पुगेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले दिएको जानकारीअनुसार, यसअघि घटनासँग सम्बन्धित ८ जनालाई हाजिरी जमानीमा छोडिएको थियो । पछिल्लो रिहाइसँगै अनुसन्धान भने यथावत् रूपमा अगाडि बढ्ने बताइएको छ ।

परिसरका एक अधिकृतले बताएअनुसार, आवश्यक बयान प्रक्रिया सकिएकाले उनीहरूलाई हिरासतमा राखिराख्नुपर्ने अवस्था नभएको निष्कर्षमा पुगेर हाजिरी जमानीमा छाडिएको हो ।

यद्यपि, उनीहरूमाथि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिने तयारी गरिएको छ । मुद्दा दायर भएपछि ती अभियुक्तहरूलाई अदालतमा हाजिर हुने सर्तमा रिहा गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, रिहा गरिएका सबैजनामाथि “आपराधिक उपद्रव” को आरोप छ । उनीहरूमध्ये केहीले भाटभटेनी सुपरमार्केट तोडफोडका क्रममा फलफूल टिपेको दृष्यहरू भिडियोमा देखिएको दाबी गरिएको छ ।

सम्बन्धित घटनामा प्रहरीले हालसम्म ८५ जनालाई पक्राउ गरी अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । तीमध्ये २१ जना रिहा भइसकेका छन् भने हालसम्म ६४ जना प्रहरी हिरासतमा रहेका छन् ।

 

प्रतिक्रिया