

नेपाल भित्र्याइँदै गरिएको २९ लाखको मोबाइल पार्टस् बरामद

काठमाडौं- भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएको मोबाइल फोनका पार्टस् रहेको पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार झापाको भद्रपुर नगरपालिका वडा नं. ९ स्थित घोडामारा चोकबाट प्रहरीले बा १८ च ४६१६ नम्बरको पिकअप गाडी नियन्त्रणमा लिएको हो ।
गाडीमा करिब २९ लाख ८७ हजार २०० रुपैयाँ बराबरको २० कार्टुन मोबाइल फोनका पार्टसहरू फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्र बहादुर खड्काले जानकारी दिए ।
उक्त गाडीका चालक झापा भद्रपुर नगरपालिका वडा नं. ५ निवासी २३ वर्षीय राहुल कामतलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको प्रहरीले जनाएको छ ।

