

कवाड संकलकमाथि दुर्व्यवहार गर्ने इन्सपेक्टरलाई कारबाही, साइकल फिर्ता

काठमाडौं- गरिब र श्रमिक वर्गप्रति कठोर व्यवहार गरेको आरोपमा फेरि एक पटक काठमाडौं महानगर प्रहरी बलको कार्यशैली आलोचनाको केन्द्रमा परेको छ । यसपटक आलोचना बालुवाटारमा कवाडी संकलन गर्दै हिँडेका एक मजदुरको साइकल खोसी नगर प्रहरीले अमर्यादित व्यवहार गरेको घटनालाई लिएर भएको हो ।
प्रत्यक्षदर्शीहरूका अनुसार, मजदुरी गरेर गुजारा चलाउने व्यक्तिसँग नगर प्रहरीले असभ्य ढंगले व्यवहार गर्दै साइकल खोसेको थियो। सामाजिक सञ्जालमा यस घटनाले तीव्र आलोचना बटुलिरहेको छ।
नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले घटनाको पुष्टि गर्दै स्थानीयको गुनासोपछि प्रहरी खटिएको बताए। उनका अनुसार, बिहानै कवाडी संकलन गर्दा आवाजले समस्या भएको भन्दै स्थानीयले उजुरी दिएका थिए।
“इन्सपेक्टर शम्भु विष्ट नेतृत्वको टोली क्षेत्रमै थियो,” पाण्डेले भने, “साइकल खोस्ने प्रयास भएको थियो, तर पछि तुरुन्तै फिर्ता गरिएको हो ।” उनले प्रहरीको व्यवहार अनुचित भएको स्विकारे र सम्बद्ध इन्सपेक्टरलाई कारबाही गरी फील्डबाट हटाइएको जानकारी पनि दिए ।
नगर प्रहरी प्रमुख पाण्डेका अनुसार, यस घटनाबारे काठमाडौं महानगरले आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

