

अत्तरियाको दुर्गा मन्दिरमा शव फेला : श्रीमतीलाई जिस्काएको भन्दै हत्या गरेकाे आरोपितको बयान

कैलाली- कैलालीको अत्तरिया क्षेत्रको दुर्गा मन्दिर नजिकै चैत २७ गते राति एकजना बेवारिसे व्यक्तिको रहस्यमय हत्या भएको प्रकरणमा नयाँ खुलासा भएकाे छ । डडेल्धुराको अमरगढी नगरपालिका–७ का ३५ वर्षीय जगदीश कैनी सडक पेटीमा जीवन बिताउँदै आएका थिए। नियमित रूपमा दुर्गा मन्दिरको परिसरमा रात बिताउने गरेका कैनी त्यस रात पनि त्यहीँ सुतेका थिए, तर बिहान उनी मृत अवस्थामा भेटिए ।
घटनापछि प्रहरीले अनुसन्धान गर्दा चकित पार्ने विवरण बाहिर आएको छ । प्रहरीले घटनामा संलग्न भएको आशंकामा तीन जनालाई पक्राउ गरेको छ, जसमा दुई जना पुरुष र एक महिला छन् । तीमध्ये शारीरिक अपाङ्गता भएका एक पुरुष र महिला पूर्व माओवादी लडाकु भएको खुलेको छ । उनीहरू आफैंलाई श्रीमान-श्रीमतीका रूपमा चिनाउँदै आएका थि ए।
हत्या आरोपमा पक्राउ परेका पुरुषले प्रहरीलाई दिएको बयानले घटना झनै रहस्यमय बनाएको छ । उनका अनुसार, कैनीले आफूप्रति अपमानजनक व्यवहार गर्दै आएको, श्रीमतीलाई जिस्काउने र चोरी गर्ने जस्ता काम गर्ने भएकाले क्रोधमा ढुङ्गाले टाउकोमा प्रहार गरी हत्या गरेको बताएका छन् । शव पनि उनले आफैँ मन्दिरको पछाडि घिसारेको दाबी गरेका छन् ।
तर प्रहरीको प्रारम्भिक अनुसन्धानले उनलाई एक्लैले हत्या गर्न सम्भव नभएको आशंका देखाएको छ । कैनी पनि शारीरिक रूपमा अशक्त थिए भने, हत्याको शैली, शव तान्ने तरिका र घटनास्थलमा भेटिएका रगतका दागहरूले समष्टिगत संलग्नताको संकेत दिन्छ । प्रहरीले घटनास्थलबाट रगतले रञ्जित लुगा र हत्यामा प्रयोग भएको ढुङ्गा पनि बरामद गरेको छ ।
प्रहरीले हाल अनुसन्धानलाई तीव्र बनाउँदै अन्य प्रमाणहरू सङ्कलन गरिरहेको जनाएको छ ।

