

पेप्सीकोलामा जग्गाको बैना गर्न लगिएको ६० लाख लुटियाे, २० जना पक्राउ

काठमाडौं- काठमाडौंको पेप्सीकोला क्षेत्रमा जग्गाको बैना दिनका लागि बोकेको ६० लाख रुपैयाँ लुटपाट भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २० जनालाई पक्राउ गरेको छ ।
बौद्ध बस्ने रितेश लामाले जग्गा किन्ने क्रममा साथमा बोकेको उक्त रकम बुधबार राति करिब ९ बजे टाउन प्लानिङ क्षेत्रमा लुटिएको हो । उनका अनुसार, उनी टाउन प्लानिङमा जग्गा सम्बन्धी कुराकानी गरिरहेका बेला ८–९ जनाको समूहले झोलामा रहेको रकम लुटेर फरार भएका थिए ।
घटना भएको केहीबेरमै काँडाघारीस्थित प्रहरी प्रभागमा गएर लामाले उजुरी दिएपछि प्रहरी सक्रिय भएको थियो । अनुसन्धानकै क्रममा सीसीटीभी फुटेजमार्फत लुटपाटमा संलग्न समूहको पहिचान गर्न सहज भएको जनाइएको छ ।
प्रहरीले हालसम्म २० जनालाई पक्राउ गरिसकेको छ भने उनीहरूबाट ३० लाख रुपैयाँसमेत बरामद गरेको छ । तीमध्ये एक झोलामा रहेको २८ लाख ५० हजार रुपैयाँ एकमुष्ट फेला परेको हो । बाँकी रकम साँखु लगेर बाँडफाँड गरिएको भन्ने बयान पक्राउ परेकाहरूले दिएका छन् ।
घटनाको गम्भीरता हेर्दै प्रहरी अब उक्त रकमको स्रोत र नगद रूपमा किन बोकेको भन्ने विषयमा समेत अनुसन्धान अघि बढाउने बताएको छ । यति ठूलो रकम नगद रूपमा लिएर हिँड्नुपर्ने कारणप्रति प्रश्न उठ्न थालेका छन् ।

