

जडीबुटी आगजनी घटनामा संलग्न आरोपमा थप एक जना पक्राउ

काठमाडौं- काठमाडौंको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्ति सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ निवासी १८ वर्षीय रन्जित बस्नेत हुन्। उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरी काठमाडौँ ल्याइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, चैत १५ गते पूर्वराजा समर्थकहरुले आयोजना गरेको प्रदर्शनमा सहभागी भएका बस्नेतले जडीबुटी क्षेत्रमा आगजनी गर्नुका साथै ट्राफिक लाइट तोडफोड गरेका थिए।
तीनकुनेमा भएको सो प्रदर्शनमा अवान्छित गतिविधिमा संलग्न भएको आरोपमा हालसम्म पक्राउ पर्नेको संख्या ८२ पुगेको प्रहरीले जनाएको छ।

