

हिजाे प्रहरीले दुर्गा प्रसाईं पक्राउ नपरेको भन्दै किन झुटो बोल्यो, यस्तो छ भित्री कथा

काठमाडौं- दुर्गा प्रसाईंको पक्राउको समाचारले नेपालको सुरक्षा संयन्त्र र सञ्चार माध्यमबीचको सम्बन्धमा नयाँ बहस जन्माएको छ । घटनाको मूल पक्ष प्रसाईंको गिरफ्तारीभन्दा पनि सो गिरफ्तारीबारेको सूचना कसरी चुहियो र त्यसले राज्य संयन्त्रलाई कस्तो तनावपूर्ण अवस्थामा पुर्यायो भन्ने विषय अझ रोचक देखिन्छ ।
प्रहरीले बिहीबार मध्यराति जारी गरेको संक्षिप्त विज्ञप्तिले प्रसाईं पक्राउसम्बन्धी समाचारलाई खण्डन गर्यो । यद्यपि, त्यसको केही समयमै प्रसाईंको सचिवालयले उनी आत्मसमर्पण गरेको भन्दै सूचना सार्वजनिक गरेकाे थियाे ।
भारतकाे आसामस्थित प्रसाईंको घर एक दिन अघिनै पत्ता लागिसकेको थियो । अपराह्न पक्राउ गर्ने तयारी भइरहँदा गृहमन्त्री, प्रहरी महानिरीक्षक र सुरक्षा निकायका शीर्ष अधिकारीहरू गृह मन्त्रालयमा रणनीतिक छलफलमा थिए । तर, यसैबीच प्रसाईं पक्राउ परेकाे समाचार सार्वजनिक भयो ।
परम्परागत रूपमा विदेशी भूमिबाट अभियुक्त ल्याइँदा नेपाल प्रहरीले देश प्रवेश भएपछि मात्र जानकारी सार्वजनिक गर्दै आएको छ । तर, यसपटक सञ्चारमाध्यममा सूचना बाहिरिएपछि सुरक्षा निकायभित्रै तनाव बढ्यो । खासगरी भारतीय पक्षको चासो र सहकार्यमा प्रभाव पर्न सक्ने चिन्ताले प्रहरीलाई तुरुन्तै खण्डन जारी गर्न बाध्य बनायो ।
एक उच्च प्रहरी भन्छन्, ‘यात्रा अझै बाँकी हुँदा समाचार बाहिरिएपछि भारतीय पक्ष नै अनिच्छुक हुन सक्थ्यो । यस्तो जोखिम टार्न हामीले उनी पक्राउ परेका छैनन् भन्ने विज्ञप्ति निकाल्यौं ।’
यसरी सूचनाको चापबीच प्रहरीलाई सार्वजनिकरूपमा एकथरि कुरा भन्नु र अन्तर्राष्ट्रिय संयन्त्रसँग भित्री तहमा अर्कै रणनीति अपनाउनु परेको परिस्थिति अप्ठेरो तर अपरिहार्य थियो ।
अनौपचारिक सहकार्यको परम्परा
नेपाल–भारत खुला सीमाको यथार्थलाई स्वीकार्दै दुवै देशका सुरक्षाकर्मीहरूले लामो समयदेखि गैर–औपचारिक सहकार्य गर्दै आएका छन् । संगठित अपराध नियन्त्रणका लागि सीमा क्षेत्रमै अभियुक्त ‘पक्राउ परेको देखाउने’ अभ्यास पुरानै हो । तर, यसले मानवअधिकारको सवालमा विवाद पनि निम्त्याएको छ ।
पक्राउ परेका प्रसाईंलाई केहीबेरअघि जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो । झापाको भद्रपुरबाट प्रहरीले नियन्त्रणमा लिएका उनलाई चन्द्रगढीबाट जहाजमा काठमाडौं ल्याइएको थियो ।
उनलाई त्रिभुवन विमानस्थलबाट सिधै जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको थियो । उनलाई प्रहरीले म्याद थपको प्रक्रिया सुरू गरेको छ ।

