तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्रलाई संसदमा बोलाउन माग


काठमाडौं – काठमाडौंको तीनकुनेमा चैत १५ गते राजावादी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनापछि पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदमा बोलाएर जवाफ माग गर्नुपर्ने आवाज उठेको छ । विभिन्न दलका सांसदहरूले पूर्वराजालाई कानुनी जवाफदेही बनाउने पहल गर्न संसदीय समितिमा औपचारिक प्रस्ताव गरेका छन् ।

संसदको कानुन, न्याय तथा मानव अधिकार समितिमा कांग्रेस सांसद जीवन परियारले उक्त घटनाबारे छानबिन गर्नुपर्ने बताउँदै पूर्वराजा ज्ञानेन्द्रलाई समितिमै उपस्थित गराई सोधपुछ गर्न प्रस्ताव गरे ।

“पूर्वराजा ज्ञानेन्द्रलाई समितिमै बोलाएर घटनाबारे प्रश्न गरौं,” उनले भने, “उहाँ पनि आम नागरिक सरह हुनुहुन्छ । नागरिकजस्तै अधिकार उहाँसँग पनि छ, तर लोकतन्त्रमाथि धावा बोल्ने अधिकार कसैसँग छैन ।”

सांसद परियारसँगै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, र नेकपा एकीकृत समाजवादीका अन्य सांसदहरूले पनि तीनकुने घटनाबारे पूर्वराजालाई जवाफदेही बनाइनुपर्नेमा जोड दिएका छन् ।

उक्त प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको थियो भने निजी सम्पत्तिमा क्षति पुगेको थियो । नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा आगजनी समेत गरिएको थियो ।

सांसदहरूले प्रदर्शनलाई हिंसात्मक बनाउने, सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्‍याउने कार्यप्रति गम्भीर आपत्ति जनाउँदै यसको स्रोत र योजनाकारबारे स्पष्ट अनुसन्धानको माग गरेका छन् ।

प्रतिक्रिया