

नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवरण पठाउन १५ दिन म्याद थप

काठमाडौं- नेपाली कांगेसले क्रियाशील सदस्यता नवीकरण गरी विवरण पठाउन १५ दिन म्याद थप गरेको छ ।
यसअघि चैत मसान्तसम्मको म्याद दिएको महामन्त्री गगन थापा नेतृत्वको केन्द्रीय सदस्यता व्यवस्थापन समितिले विवरण आउने संकेत नदेखिएपछि १५ दिनको म्याद थप गरी परिपत्र गरेको हो ।
“नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार केन्द्रीय कार्यालयबाट च.नं. १७२ मिति २०८९/१०/०३ मा क्रियाशील सदस्यता नवीकरणसम्बन्धी समय तालिकासहितको परिपत्र गरेको अवगत नै छ,” परिपत्रमा भनिएको छ, “…सो परिपत्रमा निर्धारित समयसीमाभित्र नवीकरण भएका सदस्यको एक्सल सिटमा तयारी गरी नाम र नम्बरसहितको विवरण तथा नवीकरण शुल्क (एकमुष्ट रु २००) नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ४ (३) बमोजिम वडा तहमा रु. १०, गाउँ नगर पालिका तहमा रु. १०, प्रदेशसभा क्षेत्र तहमा रु. १०, प्रतिनिधिसभा क्षेत्र तहमा रु. १०, जिल्ला रु. १० सम्बन्धित तहहरूमा नै राखी बाँकी रहेको नवीकरण शुल्कमध्ये (प्रदेश कार्यसमितिले पाउने रु. १० सहित) एकमुष्ट रु. १५० ‘नेपाली कांग्रेस केन्द्रीय कार्यालय’को खाता नं. (राष्ट्रिय वाणिज्य बैंक टेकु शाखा १७००१००००७१४६०१०) मा जम्मा गरी सो को भौचरसहित २०८२ वैशाख १५ गतेभित्र केन्द्रीय कार्यालयमा अनिवार्य रूपमा पठाउन निर्देश गरिन्छ ।”

