

डीभी परेकी युवतीलाई नक्कली प्रमाणपत्र बनाउन सहयोग गर्ने पवित्रा पक्राउ

काठमाडौं — ११ वर्षअघिको नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा फरार रहँदै आएकी पवित्रा राईलाई भक्तपुर प्रहरीले फागुनमा पक्राउ गरेको छ।
राईमाथि काठमाडौंकी कोपिला गुरुङमार्फत रामेछापकी सिजिना बुढाथोकीलाई अमेरिका जानको लागि ‘प्लस टु’को नक्कली प्रमाणपत्र बनाउन सहयोग गरेको आरोप छ । बुढाथोकीलाई अमेरिकाको डीभी परेको थियो ।
प्रहरीले बुढाथोकी, प्रमाणपत्र बनाउने किशोर शाही, गुरुङ र विष्णुहरि पाण्डेलाई २०७१ सालमै पक्राउ गरे पनि राई फरार थिइन् ।
राईले “साथीलाई मात्र चिनाइदिएको हुँ, पैसा लिएको छैन” भन्दै दोष अस्वीकार गरेकी छन् । तर शाहीले भने प्रमाणपत्र आफैंले बनाएको स्वीकार गरिसकेका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालयले राईविरुद्ध कीर्ते कागजातसम्बन्धी मुद्दा भक्तपुर जिल्ला अदालतमा दर्ता गरेको छ ।

