

काठमाडौंमा पञ्जाब प्रहरीकाे गुपचुप अपरेशन, नेपाल प्रहरीले समातेपछि भयाे यस्ताे

काठमाडाैं– बलिउड फिल्महरूमा भारतीय सुरक्षा एजेन्सीहरूले नेपालमा गोप्य अपरेशन चलाउँदै आएको देखिन्छ । नेपाल जानका लागि पासपोर्टको आवश्यकता नपर्ने हुँदा धेरैजसो राज्यहरूको प्रहरी गोप्य रूपमा नेपाल पुग्ने गरेका छन्। यस्तै योजना पञ्जाब प्रहरीले पनि बनाएको देखिन्छ।
सूचना अनुसार, एक कुख्यात अपराधीलाई पक्राउ गर्न पञ्जाब प्रहरीको एण्टी-ग्याङस्टर टास्क फोर्स (AGTF) चुपचाप केही समयअघि नेपालको राजधानी काठमाडौं पुगेको थियो । तर, कुनै कारवाही अघि बढाउन नपाउँदै नेपाल प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको बताइएको छ । यो घटना भारत सरकारको लागि लाजमर्दो विषय बनेको छ ।
भारत सरकारको अपिलपछि छोडियो टोली
हिन्दुस्तान टाइम्सले स्रोतको हवाला दिँदै भारत सरकारले नेपाल सरकारलाई अपिल गरेपछि मात्र ती प्रहरी अधिकारीहरूलाई छोडिएको उल्लेख गरेकाे छ । घटना फेब्रुअरी महिनाको हो भनिएको छ । त्यसपछि मार्च महिनामा भारतको गृह मन्त्रालयले सबै राज्य र संघीय प्रदेशहरूलाई एक सर्कुलर जारी गर्दै ‘अबदेखि कुनै पनि विदेशी भूमिमा अनुसन्धान गर्न जानु अघि अनिवार्य स्वीकृति लिनूपर्ने’ बताएकाे छ ।
पञ्जाब प्रहरीले के भन्यो ?
एक अधिकारीले भने, “अनुमति बिना गरिएको यो भ्रमण भारतको लागि लाजमर्दो बन्यो ।” घटनासँग परिचित अधिकारीहरूका अनुसार भारत र नेपाल दुवै देश यो विषयलाई गोप्य राख्न प्रयासरत छन् । किनभने दुवै देशहरू आपसी सहकार्यमा आपराधिक अनुसन्धानमा सहयोग गर्दै आएका छन् ।
भारतकाे गृह मन्त्रालयले सबै प्रहरी अधिकारीहरूलाई यस्ता विषयहरूमा संवेदनशील बनाइ उचित अनुमति लिएर मात्र विदेश भ्रमण गर्न अनुरोध गरेको छ।

