यस्तो छ रवि बस्ने कारागार


काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला कारागार भैरहवा चलान गरिएको छ ।

शुक्रबार राति काठमाडौंको निवासबाट पक्राउ परेका लामिछानेलाई चैत २३ गते विमानमार्फत गौतमबुद्ध विमानस्थल अवतरण गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।

सरकारी विदाका कराण दुई दिन हिरासतमा बिताएका लामिछानेलाई आज जिल्ला अदालत रुपन्देही लगेर थुनुवा पुर्जी दिई कारागार लगिएकाे हाे । अब अदालतको फैसला नआउन्जेल उनी सोही कारगारमा रहने छन् ।

गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।

न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् । जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ । उच्चको आदेशसँगै लामिछाने पक्राउ परेका थिए ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए । सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमै पूर्वडीआईजी छविलाल जोशी पनि सोही कारगारमा छन् ।

यस्तो छ उनी चलान भएको कारागार

रवि लामिछानेलाई रुपन्देही जिल्ला कारागार चलान गरिएसँगै सो कारागारको अवस्थाबारे चासो बढेको छ ।

९ दशक पुरानो रुपन्देही कारागारमा २५० कैदीबन्दीको क्षमता भए पनि गत पुससम्ममा त्यहाँ ५८७ जना थुनुवा तथा कैदी राखिएको थियाे । त्याे संख्या क्षमताभन्दा दोब्बर बढी हो । ४ ब्लक रहेको त्याे कारागारमा साँझा शौचालय, साँघुरो आवास, सीपमूलक कार्यक्रम चलाउन पर्याप्त स्थानको अभाव तथा महिला बन्दी राख्ने अलग सुविधा नभएकाे समाचार बाहिरिएको थियो ।

१ बिघा ७ कट्ठामा फैलिएको उक्त कारागारमा क्षमताभन्दा दोब्बर बढी बन्दी रहेकाले विशेषगरी राति सुत्न समस्या हुने गरेको छ।

कारागारका भौतिक संरचना पनि अत्यन्त जीर्ण अवस्थामा छन् । पर्खालको सट्टा तारजालीले घेरेको सुरक्षा, कर्मचारी आवासको कमजोर अवस्था र सुरक्षाकर्मीको न्यून संख्याले थप समस्या सिर्जना गरिरहेको छ । ३५ जनाको दरबन्दी भए पनि त्यहाँ कम मात्रामा सुरक्षाकर्मी खटिराहेकाे विगत छ ।

सिद्धार्थनगर नगरपालिकाले कारागारलाई ओमसतिया–५ पट्खौलीमा स्थानान्तरण गर्ने प्रस्ताव गरे पनि कार्यान्वयनमा ढिलाइ भएको छ । अपराध गरेर आउनेहरु सजाय काट्न र सुधारका लागि पछिल्लो समय सरकारले कारागारलाई सुधारगृहका रूपमा विकास गर्ने भने पनि देशकै पूरानो मध्येको कारागारमा सो कार्यान्वयन नहुँदा कारागारको अवस्था दिन प्रतिदिन खस्किँदै गएको छ ।

प्रतिक्रिया