सुनसरीमा प्रेम सम्बन्धको नाममा फसाएर युवतीका परिवारले ५ लाख असुलेपछि…


सुनसरी- सुनसरीको हरिनगर गाउँपालिका–२, भुटाहामा आइतबार ‘हनी ट्रयाप’को आरोपसँगै ५ लाख रुपैयाँ फिर्ताको माग गर्दै उत्पन्न तनावले केहीबेर क्षेत्र तनावग्रस्त बनेको थियो।

स्थानीय २३ वर्षीय माजिद अन्सारीलाई प्रेम सम्बन्धको नाममा फसाएर युवती पक्षले शनिबार राति पाँच लाख रुपैयाँ लिएको आरोप युवातर्फबाट लगाइएको छ । यसै विषयमा आक्रोशित युवाहरूले आइतबार विरोध प्रदर्शन गरेका थिए । जवाफी रूपमा युवती पक्षीय समूह पनि प्रदर्शनमा उत्रिएपछि स्थिति तनावपूर्ण बनेको हो ।

स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रमुख एसपी सुमन तिम्सिनाले जानकारी दिए । उनका अनुसार दुवै पक्षबीच सम्भावित झडप रोक्न दिउँसो २ बजेसम्म सुरक्षाकर्मी खटाइएको थियो ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीका अनुसार युवती पक्षले लिएको रकम फिर्ता गरेपछि अवस्था शान्त भएको हो । उनले भने, “केटी पक्षले गल्ती स्वीकार गरी पैसा फिर्ता गरेपछि समस्या समाधान भयो ।”

प्रेम सम्बन्धमा रहेकी युवतीलाई परिवारको दबाबमा पारेर प्रेमीसँग रकम असुलिएको बताइएको छ । प्रहरी स्रोतका अनुसार, पैसा तिरेपछि मात्रै केटा पक्षले आवाज उठाएका थिए ।

घटनाबारे प्रहरीलाई पूर्वजानकारी नभएको जनाइएको छ ।

प्रतिक्रिया