

बीपीको शालिकमाथि कालोमोसो प्रकरण : राप्रपाले माग्यो माफी

काठमाडाैं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित राजावादी समूहले हिजो (शनिबार) साँझ प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको शालिकमा कालोमोसो दलेको घटना भवितव्य रूपमा भएको स्वीकार्दै माफी मागेको छ।
राजावादीहरूले बाँके २ का सांसद एवं राप्रपा महामन्त्री धवलशमशेर राणाको रिहाइको माग गर्दै शनिबार साँझ राँके जुलुस निकालेका थिए । सोही क्रममा उनीहरूले बीपी कोइरालाको नेपालगञ्जस्थित शालिकमा कालोपोत्ने (कालो कपडाले ढाक्ने) सहितका हर्कत गरेका थिए । बीपीको शालिकमा कालोमोसो दलेको फोटो भाइरल भएपछि चौतर्फी आलोचना भइरहेको छ ।
उक्त फोटो भाइरल भएर व्यापक आलोचना हुन थालेपछि राप्रपाको नगर कार्यसमिति नेपालगञ्जले आज एक विज्ञप्तिमा जारी गर्दै माफी मागेको हो । राप्रपाले उक्त भवितव्य घटनाबाट कुनै पनि राजनीतिक दल र व्यक्तिको आस्थाप्रति ठेस पुगेकोमा हामीलगायत नगर कार्यसमिति क्षमाप्रार्थी छौँ’ भनेको छ ।
राप्रपाको नगर कार्यसमितिका अध्यक्ष हुकुम सिंह केसीले आफ्ना नेताहरूको रिहाइको माग राखेर गरिएको राँके जुलुसमा प्रहरीले हस्तक्षेप गरेपछि उक्त घटना भएको दाबी गरेका छन्।

