ताप्लेजुङमा चार महिनापछि हवाई सेवा सुरु


ताप्लेजुङ– करिब चार महिनापछि यहाँको सुकेटार विमानस्थलमा आजदेखि पुनः हवाई सेवा सुरु भएको छ ।

सुकेटार विमानस्थलमा उडान हुने नेपाल वायुसेवा निगमका दुई जहाजमा समस्या आएपछि मङ्सिरको अन्तिम सातादेखि नियमित उडान बन्द भएको थियो ।

शुक्रबार तय गरिएको उडान तालिका प्राविधिक समस्याका कारण आजका लागि सारिएको थियो । काठमाडौंबाट पाँच यात्रु लिएर आएको जहाजले ताप्लेजुङबाट चार पुरुष र दुई महिला यात्रु गरी छ जनालाई काठमाडौँ लिएर गएको सुकेटार विमानस्थलले जनाएको छ ।

लामो समयदेखि हवाई सेवा ठप्प हुँदा आन्तरिक तथा बाह्य पर्यटक, सर्वसाधारणले हवाई सेवा लिन पाएका थिएनन् । यस विमानस्थलमा केही वर्षअघि सीता एयर र तारा एयरले पर्यटकीय याममा उडान गरेका थिए । हाल उनीहरूले सेवा बन्द गरेका छन् ।

 

प्रतिक्रिया