बालेन र उनका पिएविरुद्ध अख्तियारमा उजुरी, कारण यस्ताे


काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उनका सहकर्मीहरूले एम्बुलेन्स खरिद प्रक्रियामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । यस उजुरीमा मेयर बालेनसँगै उनका स्वकीय सचिव (पिए) भुपदेव साह र खरिद प्रक्रियामा संलग्न अन्य कर्मचारीहरूको कारबाहीको माग गरिएको छ ।

उजुरीपत्र अनुसार, बालेन शाहको निर्देशनमा भुपदेव साहको नेतृत्वमा पश्चिम नेपालका विभिन्न पालिकाहरूलाई एम्बुलेन्स वितरण गर्ने कार्यक्रम चलाइएको थियो । उक्त योजनामा ३५ वटा एम्बुलेन्स खरिदको तयारी गर्दा नै भ्रष्टाचारको संकेत देखिएको भनिएको छ ।

आरोप पत्रमा भनिएको छ कि भुपदेव साहले एम्बुलेन्स आपूर्ति गर्ने गाडी कम्पनीसँग २१ मोडलको स्कर्पियो गाडी घुसस्वरूप लिने सहमति गरेका थिए र यस आधारमा खरिद प्रक्रिया अघि बढाइएको थियो । बोलपत्र (बिड डकुमेन्ट) अनुसार, सामान प्राप्त भएपछि मात्र भुक्तानी गर्ने प्रावधान भए तापनि गाडी कम्पनीले भुक्तानी सुरुमै दिने शर्त राखेको थियो, जुन महानगरले स्वीकार गरेको आरोप छ। यसले खरिद ऐन, २०६३ को दफा ५२(क) को उल्लंघन गरेको दाबी गरिएको छ ।

त्यस्तै, ललितपुर महानगरबाट काठमाडौं सरुवा भएका रामरतन शाहलाई खरिद इकाइ प्रमुख बनाउने क्रममा ठेकेदारहरूले तत्कालीन प्रशासकीय अधिकृत प्रदीप परियारलाई घुस दिएको आरोप पनि उजुरीमा उल्लेख गरिएको छ । रामरतन शाहले गाडी घुसस्वरूप लिने शर्तमा मूल्याङ्कन प्रक्रिया फेरि दोहोर्याएर एक करोड २५ लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति पुर्‍याएको दाबी गरिएको छ ।

उजुरीकर्ताले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कानुनी कारबाहीको माग गरेका छन् र मूल्याङ्कन समितिमा सहभागी व्यक्तिहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउन माग गरेका छन्।

यस कार्यक्रम अन्तर्गत ३५ वटा एम्बुलेन्स खरिद गरी विभिन्न गाउँपालिकाहरूलाई सहयोग पुर्‍याउने घोषणा काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत गरेको थियो ।

प्रतिक्रिया