

पक्राउ परेका रवीन्द्र मिश्र र धवलशमशेरलाई म्याद थपका लागि अदालत पुर्याइयो

काठमाडौं— तीनकुनेमा शुक्रबार भएको प्रदर्शनका क्रममा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पक्राउ परेका राजावादी नेता तथा कार्यकर्तालाई अनुसन्धानका लागि आइतबार काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि पेश गरिएको छ ।
पक्राउ परेका व्यक्ति शनिबार प्रहरी नियन्त्रणमा रहेको र आज (आइतबार) अदालतमा पेश गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
पक्राउ पर्नेहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, तथा राजावादी अभियन्ता स्वागत नेपाललगायत रहेका छन् ।
तीनकुने घटनासँग सम्बन्धित पक्राउ पर्नेहरूको सङ्ख्या हालसम्म ११३ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

