
इलाममा १९ वर्षीया महिलाको शव गाडिएको अवस्थामा फेला, श्रीमान् पक्राउ
इलाम- इलामको फाकफोकथुम गाउँपालिकामा १५ दिनदेखि सम्पर्कविहीन रहेकी एक युवतीको शव गाडिएको अवस्थामा फेला परेको छ । फाकफोकथुम गाउँपालिका–३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेलको शव फाकफोकथुम–२, धार्ने खोप भन्ने स्थानमा भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी मानबहादुर राईका अनुसार शव उत्खनन् गरी पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
विमलाका माइती देउमाई नगरपालिका, जितपुर रहेको र उनी फागुन २९ गतेदेखि सम्पर्कविहीन भएको खुलेको छ । खोजीका क्रममा नभेटिएपछि ससुरा कृष्णलाल गिरीले प्रहरीलाई जानकारी गराएका थिए ।
यस घटनामा विमलाका श्रीमान् उमेश गिरीको शंकास्पद गतिविधि देखिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उमेशले श्रीमती हराएको भन्दै फेसबुकमा पोस्ट गरेका थिए भने आमचोक प्रहरी चौकीमा पनि जाहेरी दिएका थिए ।
हाल घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
