

देवरले खुकुरी हानेर गरे भाउजुको हत्या, दाई गम्भीर घाईते

हेटौंडा — हेटौंडामा एक देवरले भाउजुको खुकुरी प्रहार गरी हत्या गरेका छन् ।
हेटौंडा–१ चौकीटोलकी ३५ वर्षीया गुडिया दासलाई आफ्नै देवरले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो ।
बुधबार राति ९ बजे साढे २ तले घरको दोस्रो तलामा कोठाभित्र टाउको चोट लागेको अवस्थामा गुडिया मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
घटनामा उनका कान्छा देवर २३ वर्षीय राहुललाई प्रहरीले हातमा खुकुरी बोकेकै अवस्थामा पक्राउ गरेको छ ।
राहुलले आफ्नो माइलो दाजु २८ वर्षीय रुपेश दासलाई पनि खुकुरी प्रहार गरेका छन् । घाइते रूपेशको टाउको, दाहिने हात, करङको भागमा चोट लागेको अर्यालले बताए ।
रूपेश घाइते भएको खबर पाएर दासको घर पुगेको प्रहरीले माथिल्लो तलाम महिला मृत अवस्थामा रहेको थाहा पाएको थियो ।
मृतक गुडियाको श्रीमान् रोशन दास रोजगारीमा रहेका छन् । राहुलले भाउजुको हत्या र दाइ रूपेशमाथि खुकुरी प्रहार गरेको स्वीकार गरेको डिएसपी अर्यालले जानकारी दिए ।

