१०० रुपैयाँका कारण ढुंगाले हानेर हत्या


भक्तपुर- भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नम्बर ९ स्थित निलबाराही जंगलमा चैत १० गते ६६ वर्षीय ओमप्रकाश राईको शव फेला परेकाे थियाे । प्रारम्भिक अनुसन्धानमा उनको ढुंगाले हानेर हत्या गरिएको खुल्न आएको छ ।

राई प्लास्टिक र बोत्तल संकलन गर्ने काम गर्थे । उनी खोटाङको केपिलाशगढी गाउँपालिका–२ का स्थायी बासिन्दा थिए ।  हाल उनी  भक्तपुरको बोडेस्थित कमलपोखरीमा बस्दै आएका थिए । प्रहरीका अनुसार उनको शव टाउकोमा गम्भीर चोट लागेको अवस्थामा भेटिएको थियो ।

यस घटनामा संलग्न रहेको आरोपमा ५७ वर्षीय हिमाल बुढा मगरलाई पक्राउ गरिएको छ । प्रहरी अनुसन्धानका क्रममा उनले हत्या स्वीकार गर्दै बयान दिएका छन् ।

विवादको जड: रक्सी र सय रुपैयाँ
डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार चैत ९ गते साँझ हिमाल बुढा मगर र ओमप्रकाश राईले निलबाराहीस्थित भट्टीमा पाँच–छ गिलास रक्सी पिएका थिए । पछि, सुत्न जाने क्रममा राईले हिमालसँग रहेको सय रुपैयाँ खोसेपछि विवाद चुलिएको थियो ।

हिमालले पैसा फिर्ता मागे पनि राईले हातमा च्यापेर बसेको उनले बयान दिएका छन् । यही विवादकै कारण क्रुद्ध बनेका हिमालले राईलाई भुइँमा लडाएर नजिकैको ढुंगा उठाई उनको टाउकोमा पटक–पटक प्रहार गरेका थिए ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ भने हिमाल बुढा मगरमाथि कानुनी कारबाही अघि बढाइने बताइएको छ ।

प्रतिक्रिया