काभ्रेमा २ प्रहरी चौकीका लागि जग्गा प्राप्ति

भवन निर्माणको काम सुरु भइसकेको छः एसपी खड्का


काभ्रे – जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक अन्तर्गत रहेका दुई प्रहरी चौकीका लागि जग्गा प्राप्ति भएको छ ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, प्रमुख मालपोत अधिकृत दीपक कोइरालाले जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) वसुन्धरा खड्कालाई प्रहरी चौकी पोखरी नारायणस्थान र प्रहरी चौकी भकुण्डेबेसीँका लागि जग्गा भोगाधिकार प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

चैत ४ गते बसेको मन्त्रीपरिषद्को बैठकले साबिक पोखरी नारायणस्थान गाविस–३ हाल तेमाल गाउँपालिका–५ स्थित जिल्ला प्रहरी अन्तर्गतको प्रहरी चौकी पोखरी नारायणस्थानलाई नेपाल सरकारको नाममा कायम रहेको कित्ता नम्बर ४६३ को छ रोपनी जग्गा प्रयोग गर्न दिने निर्णय गरेको थियो ।

त्यसै गरी मन्त्रीपरिषद्को बैठकले जिल्ला प्रहरीमातहत रहेको प्रहरी चौकी भकुण्डेका लागि साबिकको मेथिनकोट गाविस–६ हाल नमोबुद्ध नगरपालिका–४ स्थित कित्ता नम्बर ८५ को छ रोपनी सार्वजनिक जग्गा प्रयोग गर्न दिने निर्णय गरेको थियो । जिल्ला प्रहरी प्रमुख खड्काले दुई चौकीका लागि आवश्यक पर्ने जग्गाका लागि चालु आर्थिक वर्षको सुरुवातदेखि जग्गा हेर्ने काम भएको बताइन् ।

एसपी खड्काले जङ्गलछेउमा रहेको प्रहरी चौकी पोखरी नारायणस्थानलाई पालिकानजिक सार्नका लागि तेमाल गाउँपालिकाले १० लाख विनियोजन गरी चारकोठे अस्थायी भवन निर्माणको काम सुरु गरेको बताइन् ।

प्रतिक्रिया