

चोरीका २७१ मोबाइल, ९ ट्याब र १५ ल्यापटपसहित ७ जनालाई काठमाडौं प्रहरीले समात्यो

काठमाडौं- काठमाडौं प्रहरीले चोरीका मोबाइल, ल्यापटप तथा ट्याबहरू सहित ७ जनालाई नियन्त्रणमा लिएको छ । फागुन ७ गते बेलुका करिब ६ बजे कोटेश्वरमा सार्वजनिक बसमा पाकेटमारी गरी मोबाइल चोरी गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानको क्रममा पक्राउ परेका व्यक्तिहरूले चोरी गरिएका मोबाइल भक्तपुरको जगातीस्थित सरोज मोबाइल रिपेयरिङ सेन्टरमा बेच्ने गरेको खुल्न आएपछि उक्त सेन्टरमा छापा मारिएको थियो ।
छापा मार्दा लुकाई राखेको अवस्थामा विभिन्न कम्पनीका २७१ वटा मोबाइल, ९ वटा ट्याब र १५ वटा ल्यापटप बरामद गरिएको प्रहरीले जनाएको छ । सोही क्रममा मोबाइल रिपेयरिङ सेन्टर सञ्चालकसहित ७ जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
पक्राउ पर्नेहरूमा प्रमोद परिवार (३५) – काभ्रे, हाल ललितपुर सानागाउँ, गुनराज न्यौपाने (२६) – काभ्रे, हाल भक्तपुर ठिमी, हेमन्त राना मगर (३०) – रौतहट, हाल भक्तपुर ठिमी, शम्भु विश्वकर्मा (२८) – दोलखा, हाल भक्तपुर जगाती, राजेश चालिसे (२२) – सिन्धुपाल्चोक, हाल भक्तपुर गठ्ठाघर, सबिन पाण्डे (२१) – दोलखा, हाल काठमाडौँ चावहिल र प्रकाश कट्वाल (२०) – काठमाडौं, हाल भक्तपुर ठिमी रहेकाे प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी अपील राज बोहराले पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान जारी रहेको बताएका छन् ।

