

६ एआईजी र १० डिआईजीमा बढुवाको तर्खर, को-को छन् दौडमा ? (नामसहित)

काठमाडौं – यही चैत ४ गते मध्यरातदेखि प्रहरी महानिरिक्षक (आईजी) सहित ९ उच्च अधिकृतले एकैपटक अवकाश पाएपछि नेपाल प्रहरीमा ठूलो दरबन्दी रिक्त रहेको छ ।
रिक्त भएको दरबन्दीमा आईजीमा दीपक थापाले नियुक्ति पाउँदा ६ एआईजी र चार डिआईजीको पद खालि भएको छ ।
पहिला बरिष्ठ पदको बढुवा हुने प्रावधानसँगै ६ एआईजीमा बढुवा भएपछि थप ६ डिआईजीको दरबन्दी खाली हुने भएकाले हाल रिक्त ४ समेत गरी तत्कालै १० जना डीआईजीमा बढुवा हुनेछन् ।
दीपक थापा आईजीमा बढुवा र अन्य ५ अतिरिक्त प्रहरी महानिरिक्षक (एआईजी) एकैपटक अवकाश लिएपछि अहिले नेपाल प्रहरीमा ६ जना अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी रिक्त भएको छ ।
प्रहरीमा जनपदतर्फ ८ एआईजीको दरबन्दी छ । जसमा अहिले दुई एआईजी मात्रै छन् । अहिले आईजीको प्रतिस्पर्धामा रहेका टेकबहादुर तामाङ र सुदीप गिरी एआईजी रहेका छन् ।
नयाँ आईजी भएसँगै अब एआईजीको रिक्त दरबन्दीमा बढुवाका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ । एआईजी बढुवाको दौडमा ११ जना डीआईजीहरू रहेका छन् ।
एआईजीका लागि चन्द्र कुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, डा. मनोज कुमार केसी, राजन अधिकारी, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बि.क. दौडमा रहेका छन् ।
बढुवा सूचीको पहिलो नम्बरमा डीआईजी खापुङ छन् । मेरिट सूचीको दोस्रो नम्बरमा आचार्य र तेस्रोमा शर्मा छन् । माथिका यिनै ११ जना मध्येबाट ६ जनालाई सरकारले एआईजी नियुक्त गर्नेछ ।
त्यसबाहेक चैत ४ मा ४ जना डिआईजीहरु पनि अवकाशमा गएकोले डिआईजीका लागि पनि दौडधूप चलिरहेको छ । हालका ६ डिआईजी एआईजी हुने र चैत ४ मा अवकाश पाएका ४ गरी जम्मा १० जना डिआईजीको दरबन्दी रिक्त हुने जनाइएको छ । त्यसका लागि २७ एसएसपीहरु प्रधिस्पर्धामा रहने देखिएको छ ।
डिआईजीका लागि ओमबहादुर राना, माधवप्रसाद श्रेष्ठ, दिपेन्द्र घर्ती क्षेत्री, दिपक रेग्मी, दिलीपसिंह देउवा, विनोद घिमिरे, सुदर्शनप्रसाद कोइराला, दिपक कुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, सञ्जीव शर्मा दास, शारदाप्रसाद चौधरी, विश्व अधिकारी, भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अविनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दिप शम्शेर जबरा, गोपाल चन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, तारादेवी थापा र प्रज्वल महर्जनमध्ये १० जना बढुवा हुन्छन् ।
कुँवरसँगै एआईजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई एकसाथ अवकाशमा गएका हुन् । उनीहरूकै ब्याचमेट डीआईजीहरू गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि सेवानिवृत्त भएका छन् ।

