बालाजुमा गेस्ट हाउसका नाममा वेश्यावृत्ति, सञ्चालक पक्राउ


काठमाडौं – बालिकालाई वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा पञ्चेश्वर महाकाली गेस्ट हाउस एण्ड रेष्टुरेन्टका सञ्चालक शम्भुलाल मल्ल पक्राउ परेका छन् । ४५ वर्षीय मल्ल गोरखा पालुङटार नगरपालिका–६का बासिन्दा हुन् ।

काठमाडौं महानगरपालिका–१६ बालाजुमा गेस्ट हाउस सञ्चालन गर्दै आएका मल्लले आर्थिक लाभको लागि बालिकाहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको सूचनाका आधारमा मानव बेचबिखन ब्युरो, बबरमहलबाट खटिएको प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो ।

पक्राउसँगै प्रहरीले गेस्ट हाउसबाट दुई जना बालिकाहरूलाई उद्धार गरी सुरक्षित आवासको लागि सेल्टरहोममा पठाएको छ । मल्लमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको छ ।

जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिएर प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया