

धुलिखेल अस्पतालका दुई चिकित्सकलाई काउन्सिलले सोध्यो स्पष्टीकरण

काठमाडौं – काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स (धुलिखेल अस्पताल)का मानसिक रोग विभागका दुई चिकित्सकमाथि नेपाल मेडिकल काउन्सिलले स्पष्टीकरण माग गरेको छ ।
एमडी पहिलो वर्षमा अध्ययनरत एक विद्यार्थीले गत फागुन ४ गते आत्महत्याको प्रयास गरेपछि चिकित्सकहरूले उनीमाथि निरन्तर दबाब र गालीगलौज गरेको आरोप लगाइएको थियो । सोही आरोपका आधारमा मेडिकल काउन्सिलले मानसिक रोग विभागका प्रमुख डा. अजय रिसाल र डा. दीपक कुँवरलाई ‘किन कारबाही नगर्ने’ भन्दै स्पष्टीकरण सोधेको हो ।
यस विषयमा काउन्सिलको व्यावसायिक आचरण समितिले आरोपित चिकित्सक तथा पीडित दुवै पक्षको बयान लिएको थियो । समितिले आरोपको सत्यता पत्ता लगाउन पुनः स्पष्टीकरण सोध्ने निर्णय गरेको काउन्सिलका एक सदस्यले जानकारी दिए । स्पष्टीकरणको आधारमा आगामी कारबाहीबारे निर्णय गरिने बताइएको छ ।
यसअघि, काउन्सिलले विभागमा कार्यरत चार चिकित्सकलाई एक हप्ताका लागि निलम्बन गरिसकेको छ । साथै, काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्सेसले समेत छानबिन गरिरहेको र कुनै पनि काममा संलग्न नहुन निर्देशन दिएको छ ।
आवासीय चिकित्सकहरूले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् । उनीहरूका अनुसार यस्ता घटनाहरू पहिलेदेखि दोहोरिँदै आएका छन्, जसअन्तर्गत अघिल्लो वर्ष पनि एक विद्यार्थीले आत्महत्याको प्रयास गरेका थिए भने अर्को एक विद्यार्थीले पढाइ नै छोडेका थिए ।

