

३१ औं आईजीः सरकारको स्वच्छ निर्णयको प्रतिक्षामा तीनै प्रतिस्पर्धी !

काठमाडाैं – आम नेपालीलाई प्रत्यक्ष राज्यको उपस्थिति जनाउने नेपाल प्रहरी ३१ औं नेतृत्व चयनको संघारमा पुगेको छ । ३० औं प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको उपलब्धीमूलक अवकाशसँगै संगठनलाई अगाडि बढाउनका लागि प्रत्यक्षरुपमा तीन उच्च अधिकृतहरु प्रतिस्पर्धामा रहेका छन् ।
कुँवरको अवकाशसँगै भदौ ११ गतेसम्म संगठनको नेतृत्व सम्हाल्नका लागि प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ मुख्य प्रतिस्पर्धीका रूपमा रहेका छन् ।
विगतमा जस्तो यसपटक आईजी बढुवाको ३ दिनमात्रै बाँकी रहँदा चलखेल र मिडियाबाजी देखिएको छैन । यसअघिका बढुवाका क्रममा संगठनभित्र गुट चलाउँदै प्रतिस्पर्धामा रहेका कतिपय अधिकृतहरुले राजनीति चलखेल र मिडियाबाजी गरिरहेका प्रशस्तै उदाहरणहरु रहेका छन् ।
आईजीमा बढुवा हुनकै लागि जुनियर प्रहरी अधिकृतहरुलाई समेत उचालेर गुट, उपगुटबाट चलखेल गरिरहेको इतिहास धेरै पुरानो भएको छैन । त्यसका साथै जुनियर अधिकृतहरुले पनि आफू निकटकालाई आईजी बनाउनका लागि आफू निकटका राजनीतिक नेतृत्वलाई दबाब, प्रलोभन दिएको वा दौडाहा चलाएको सुनिएको छैन । र मुख्य प्रतिस्पर्धी रहेका अधिकृतले पनि संगठन र सरकारकै निर्णयको प्रतिक्षामा बसिरहेको जस्तो देखिएको छ । बसन्त कुँवर आईजी भएपछि बढुवाका साथै सरुवाका लागि मापदण्डकै पालना गरिएको साक्षी बनिरहेका तीनजानै प्रतिस्पर्धीहरु चैत ४ लाई कुरिरहेका छन् ।
३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका कुँवरको स्वच्छ छविकै कारण उनका उत्तराधिकारीका रुपमा आउन लागेका अधिकृतले पनि स्वच्छ एवं न्यायसंगत बढुवाको प्रतिक्षामा रहेका छन् ।
बरियता अनुसार आगामी नेतृत्वका लागि दीपक थापा सबैभन्दा पहिलो स्थानमा रहेका छन् । उनी अन्य एआईजीभन्दा एक महिना अघि नै एआईजी बनेकाले उनलाई आईजी बनाउन ज्येष्ठता पहिलो आधार बन्न सक्छ । त्यस्तै हाल केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को कमाण्ड गरिरहेका थापा यसअघि काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारीमा समेत रहेका थिए ।
थापा संगठनभित्र कमाण्डिङका लागि उत्कृट अफिसरका रुपमा परिचित छन् भने विभिन्न अपरेशनहरुमा पनि सफलता हात पार्दै आएका छन् ।
त्यस्तै अर्का प्रतिस्पर्धी सुदीप गिरी हाल राष्ट्रिय प्रहरी प्रतिष्ठान (प्रहरी एकेडेमी) मा प्रमुखको रुपमा काम गरिरहेका छन् । उनलाई संगठनभित्र विशेष ब्यूरोका दक्ष अधिकृतका रुपमा पनि चिनिन्छ ।
त्यस्तै अर्का प्रतिस्पर्धी टेकबहादुर तामाङ भने राष्ट्रिय प्रहरी प्रतिष्ठान (प्रहरी एकेडेमी) र अख्तियारसम्बन्धी अनुभवी अधिकृत हुन् ।
यी ३ जनामध्ये थापा बरिष्ठ पनि रहेको हिसाबले उनलाई आईजी बनाएमा वर्तमान आईजी बसन्त कुँवरले अंगालेको मापदण्डलाई पनि पालना हुने र कुशल कमाण्डिङ क्षमता भएका कारण आगामी दिनमा संगठनको गौरवलाई थप मजबुत गराउन सफल हुने विश्वास लिइएको छ । साथै उनलाई नियुक्ति गरिएमा प्रायः आईजी नियुक्तिमा आलोचित बन्दै आएको सरकारले न्यायसंगत कार्य गरेको हुने पनि संगठनभित्रकै अधिकृतहरु बताउँछन् ।
आईजी बढुवाका ला प्रहरी नियमावलीले सम्पूर्ण अधिकार सरकारलाई दिएको छ । नियमावलीको दफा ४१ मा ‘एआईजीहरूमध्येबाट र एआईजी नभएको अवस्थामा डीआईजीमध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्नसक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई आईजीपी पदमा बढुवा गर्नसक्ने छ,’ भन्ने उल्लेख भएसँगै संगठनको ३१ औं आईकाजका लागि यी ३ जनामध्ये जो पनि हुनसक्ने बाटो खुलै रहेको छ ।

