प्रहरीले खोजबिन सुरु गरेपछि प्रधानमन्त्री ओलीको हत्या गर्न उक्साउने कार्की के भन्छन् ?
काठमाडाैं- दशरथ रंगशालामा प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न उक्साएकाे भन्दै नेपाल प्रहरी र जापानस्थित नेपाली दूतावासकाे निगरानीमा परेपछि रतन कार्कीले माफी मागेका छन् ।
अघिल्लो साता काठमाडौंमा भएको साफ यू २० च्याम्पियनसिप २०२४ को फाइनल खेलको क्रममा ‘प्रधानमन्त्रीलाई मार्न’ भन्दै रतन कार्कीले भिडिओ बनाएका थिए । त्यसपछि कार्कीको खोजीमा प्रहरी लागेको हाे । उनी जापानमा रहेकाले पक्राउको लागि त्यहाँको प्रहरीसँग समन्वय भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
जापानमा बस्दै आएका कार्कीले टेलिभिजनमा प्रतियोगिता हेर्दै सामाजिक सञ्जालमा रंगशालाका दर्शकलाई प्रधानमन्त्रीको हत्या गर्न उक्साएका थिए । उनले फेसबुक लाइभ गर्दै भनेका थिए, ‘आज गरौं यत्तिचाहिँ गरिहालौं के ! आज गरिएन भने हामी धेरै पछुताइन्छ । आँटौं साथीहरु आज । तपाईंहरुले गेम हेरिरहनुभएको होला,तर मैले अरु नै केही हेरिरहेको छु । आज हामीले चाहेम भने मार्न सकिन्छ । यत्रो मान्छे छन् एउटा ग्रुुप बनाएर घेर्ने हो भने फ्याट्टै मार्न सकिन्छ । मारेपछि मारेको मार्यै हुन्छ । आँटम त आज । आज आँटी हालौं,धेरै टाइम पनि छैन । बूढो गइहाल्छ मतलब उता जान पनि टाइम छैन, उता जान पनि छैन । बुझ्नु न यत्ति चाँही गरौं के । आज गरिएन भने पछुताइन्छ साथीहरु ।’
अहिले भने उनले खेल हेर्ने क्रममा आक्रोशित भएर त्यस्तो अभिव्यक्ति दिन पुगेको जनाउँदै अन्यथा नलिन आग्रह गरेका छन् । ‘खेल त सबैले हेर्नुभयो होला । हामीले जित्यौ वा हार्यौं, त्यो आफ्नै ठाउँमा छ । सिक्दैछौं । गेमको दौरानमा फ्रस्टेसनको कारण जिब्रो चिप्लिएको हो । मार्नुपर्छ भन्ने शब्द बोल्न पुगेँ । मेरो तात्पर्य गलत भयो । शैली कमेडी भयो । मार्नुपर्छ भन्दा फ्रस्टेसन पोखिएको हो, अलिकति नेगेटिभ इनर्जी भयो । तर यसलाई कुनै पनि पोलिटिकल व्यक्तिहरुले, कुर्सीमा बस्नुभएका व्यक्तिहरुले मलाई नै प्रहार गर्न खोजेको हो भनेर नबुझिदिनुहोला । मेरो इन्टेन्सन त्यस्तो थिएन । म सबैमा माफी माग्न चाहन्छु ’ उनले भिडियोमा भनेका छन् ।