तिहारका लागि ४८ हजार प्रहरी ड्युटीमा


काठमाडाैं- दशैं, तिहार र छठलगायत ठूला पर्वहरुमा नेपालीहरुको धेरै आवतजावत हुने सडकमा सवारीको चाप बढ्ने, बजार तथा मेला लाग्ने, नाचगान चल्ने जस्ता मनोरञ्नात्मक क्रियाकलाप हुने भएकाले यसैलाई मध्यनजर गर्दै नेपाल प्रहरीले सुरक्षा योजना एकमहिना अगाडि नै बनाइसकेको छ ।

प्रत्येक जिल्लामा आ–आफ्नो सुरक्षाको अवस्था समेतलाई हेरेर छुट्टै किसिमको सुरक्षा योजना बनाएको छ र कार्यानवयन गर्दै आइरहेको छ ।सडकमा चेकजाँच गर्ने मापसे, लापसे गरेको जाँच गर्ने अनियन्त्रित किसिमले सवारी चलाउने जस्ता गतिविधिहरुलाई विशेष रुपमा हेरिरहेको प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता दानबहादुर कार्कीले बताए ।

तिहारमा देउसीभैलो खेल्ने, रमाइलो गर्ने, रातिसम्म बसेर होहल्ला गर्ने जस्ता क्रियाकलाप हुने हुनाले रातिको गतिबिधिलाई निश्चित समयसम्म निर्धारण गरिएको छ । जिल्ला सुरक्षा समितिले आफ्नो ठाउँ, अवस्था हेरेर, कुनै ठाउँमा अलि बढि समय र कुनै ठाउँमा कम समय हेर्ने गरी व्यवस्थापन गरिएको उनले बताए ।

‘हामीले दशैँ र तिहार दुईवटै चाडपर्वमा जनशक्तिलाई छुट्टी दिएका छैनौँ । अति आवश्यक, बिरामी बाहेकलाई बिदा दिइएको छैन । दशैँमा ६० हजारको हाराहारीमा जनशक्ति परिचालित थिए भने अहिले ४८ हजार जनशक्ति नेपालभर परिचालित हुन्छन् । बिदा नदिएपछि सबै नै परिचालित हुने थियो ’ उनले भने ।

 

प्रतिक्रिया