जुवातास खेलिरहेको अवस्थामा ४४ जुवाडे पक्राउ


काठमाडौं – देशभरका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ४४ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पर्साको वीरगंज महानगरपालिका-८ गहवा टोलस्थित प्रभु साह कानुको टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-८ गहवा टोल बस्ने ४० वर्षीय बिरेन्द्र साह कानु समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६५ हजार रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

त्यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका-५ बनगाउँ बस्ने ३२ वर्षीय भिम घटालको घरमा जुवातास खेलिरहेको अवस्थामा भिम समेत १२ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८२ हजार ३ सय २२ रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।

उता बझाङको जयपृथ्वी नगरपालिका-९ सिमखेत बस्ने बजुर खड्काको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा बजुर समेत ५ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार १ सय ३० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।

यता कैलालीको गोदावरी नगरपालिका-८ हरीनगर बस्ने प्रदिप भुलको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रदिप समेत ९ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार २ सय ३० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।

त्यसैगरी इलामको इलाम नगरपालिका-७ चोक बजारमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ बस्ने ४४ वर्षीय सुमन श्रेष्ठ समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ४५ हजार ३ सय ६० रूपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया