हनि ट्रयापिङ मुद्दामा ‘फरार’ इन्स्पेक्टर विनुकुमारी सामाजिक सञ्जालमा सक्रिय


काठमाडौं — ‘हनी ट्रयाप’ प्रकरणमा फरार रहेकी ललितपुरको भैंसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख एवं ‘विवाद क्विन’ इन्स्पेक्टर बिनुकुमारी शाही सामाजिक सञ्जालमा सक्रिय देखिएकी छिन् ।

शाहीविरुद्ध पक्राउ पुर्जी भएपछि उनी फरार रहेकै अवस्थामा सामाजिक सञ्जाल इन्स्टाग्राममा सक्रिय रहेको खुलेको हो ।

शाहीले ३ दिन अगाडि एउटा पोस्ट राखेकी थिइन् भने आज (सोमबार) दिउँसो पनि पोष्ट राखेकी छिन् ।

उनले पोष्ट गरेको तस्बिरमा ‘Your value doesn’t decrease based on someone’s inability to see your worth. ‘ क्याप्सन राखेकी छिन् ।

३ दिन अघि गरेको पोष्टमा भने एक पुस्तकको कभरका साथमा ‘Healing doesn’t mean the damage never existed, it means the damage no longer controls our lives.’  पोष्ट गरेकी थिइन् ।

हनी ट्रयापको घटनामा बलात्कारको कसुर लगाएर फसाइ दिने भन्दै इन्स्पेक्टर शाहीले पीडित भनिएका व्यक्तिसँग ३० लाख रुपैयाँमा डिल गरेको आरोप लागेको थियो । पीडितले नै प्रहरीलाई भनेपछि घटना बाहिर आएको थियो ।

यसअघि आपराधिक लाभ कसुरमा अनुसन्धान गरेको प्रहरीले घटनाको प्रकृति जटिल देखिएपछि आपराधिक लाभ र संगठित अपराधमा समेत अनुसन्धान सुरू गरिसकेको छ ।

जिल्ला प्रहरी परिसर, ललितपुरले हाल सहायक हवल्दार महेन्द्र हमालसँगै समूहका नाइके इटहरीका ताज इस्लाम, युवती सुस्मा विक, भीमादेवी थापालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ।

ताजको समूहले  ललितपुरका एक व्यवसायीबाट असोज ६ गते बलात्कार मुद्दामा फसाउने भन्दै भैंसेपाटी प्रहरी प्रभागका तत्कालीन प्रहरी प्रमुख निरीक्षक बिनुकुमारी शाहीलाई नै प्रभावमा पारेर ३० लाख रुपैयाँ असुल गरेका थिए ।

घटनालगत्तै प्रहरी प्रधान कार्यालयले शाहीलाई रानीपोखरी तानेर निलम्बन गरेको थियो । हाल उनी फरार भनिएकी छिन् ।

प्रहरीले इन्सपेक्टर शाहीलाई भने पक्राउ गर्न चासो दिएको छैन । फरार अवस्थामै उनी पत्रकार तथा पीडित लगायतलाई धम्काउने गतिविधिमा सक्रिय छिन् ।

इन्सपेक्टर शाहीले गिरोहका नाइके इस्लामको मोबाइल समेत प्रहरी कार्यालयबाट गायब बनाएको जनाइएको छ । सो मोबाइलमा इन्सपेक्टर शाहीदेखि माथिल्लो तहका प्रहरीसँगको उनको कुराकानीहरु थिए ।

प्रतिक्रिया