

कञ्चनपुरमा दम्पती हत्या प्रकरणः तीन जना पक्राउ

काठमाडौं- शुक्रबार कञ्चनपुरकाे लालझाडीमा दम्पती मृत अवस्थामा भेटिएको घटनामा संलग्न रहेको आंशकामा प्रहरीले तीन जनालाई पक्राउ गरेकाे छ ।
लालझाडी गाउँपालिका–१ बिनबारीका स्थानीय बडायक दम्पती रमेश (रामेश्वर) बडायक र कमला बडायकको धारिलो हतियार प्रहरी गरी हत्या गरिएको विषयमा अनुसन्धान जारी नै रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका डीएसपी हेमबहादुर शाहीले बताएका छन् ।
उनका अनुसार सो घटनामा संलग्न रहेको आंशकामा तीन जनालाई नियन्त्रणमा लिइएकाे छ । मृत भेटिएका दम्पतीको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएकाे छ ।
घटनाको विस्तृत अनुसन्धान गर्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिए पनि नाम भने खुलाइएको छैन । घटनाको सुक्ष्म अनुसन्धान गर्न तालिम प्राप्त कुकुरहित प्रहरी टोली परिचालन गरिएको छ ।
शुक्रबार बिहान रामेश्वर बडायक घरको आँगन र कमला घरभित्रै ओछ्यानमै मृत फेला परेका थिए । बिहीबार राति उनीहरूको हत्या गरिएको आशंका गरिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले बिनबारीका ४६ वर्षीया रमेश बडायक र ४३ वर्षीया उनकी श्रीमती कमला बडायकको प्रारम्भिक घटनाको विवरण हेर्दा हत्या नै गरिएको खुल्न आएको बताए ।

