प्रहरीबाटै असुरक्षा बढेकाे भन्दै चौकी सार्न माग !
बैतडी- पञ्चेश्वरकी एक १७ वर्षीय किशोरी बेपत्ता भएको १२ दिन पुगेको छ । किशोरी बेपत्ता पारेको आरोपमा स्थानीय प्रहरी चौकीका निमित्त इन्चार्ज प्रहरी हवलदार थुनामा छन् ।
पञ्चेश्वर गाउँपालिका–२ स्थित महाकाली प्रहरी चौकीका निमित्त इन्चार्ज प्रहरी हवलदार कृष्णराज जोशी किशोरी बेपत्ता पारेको आरोपमा मुछिएका हुन् । हवलदार जोशीलाई निलम्बन गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले बताए । उनले किशोरीको खोजी गर्न प्रहरी परिचालन गरिएको बताए ।
गएको असोज २५ गते बिहान प्रहरी हवलदारलाई भेटेपछि ती किशोरी बेपत्ता भएको किशोरीका आफन्तले बताएका छन्। हवलदार जोशीको मोबाइल फोनमा किशोरीसँग अँगालो हालेका तस्बिरसमेत भेटिएका छन् । किशोरी बेपत्ता भएकै दिन स्थानीयले प्रहरी हवलदार जोशीलाई महाकाली नदी तरेर भाग्दै गरेको अवस्थामा दाम्लोले बाँधेर प्रहरी चौकीमा बुझाएका थिए ।
अहिले प्रहरी चौकीबाट गाउँमा असुरक्षा बढेको भन्दै स्थानीयवासी र जनप्रतिनिधिले प्रहरी चौकी सार्नुपर्ने माग गरेका छ न्। प्रहरी चौकी सार्न जनप्रतिनिधिसहित ६४ जनाले हस्ताक्षर गरेर प्रशासनमा बुझाएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।
स्थानीयले प्रहरी चौकी नचाहिने भनेपछि अहिले पञ्चेश्वर गाउँपालिका–२, महाकालीमा रहेको प्रहरी चौकीका प्रहरी पञ्चेश्वर गाउँपालिका–३, कुलाउ बजारमा बस्दै आएका छन् ।