

बैतडीमा बेपत्ता किशोरीको अवस्था अज्ञात, हवल्दारमाथि अनुसन्धान जारी

बैतडी– बैतडीको पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी साढे १७ बर्षीया एक किशोरी बेपत्ता भएको ११ दिन बितिसक्दा समेत उनको अवस्था अज्ञात रहेको छ । गएको असोज २५ गते पाँच बजेको समयमा घरबाट निस्केकी किशोरीको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।
ती किशोरीे पञ्चेश्वर गाउँपालिका–२ स्थित महाकाली प्रहरीचौकीका इञ्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशीसँग नजिक रहेको खुलेपछि उनीमाथि प्रहरीको अनुसन्धान जारी रहेको छ ।
असोज २५ गते बिहान प्रहरी हवलदारलाई भेटेपछि ती किशोरी बेपत्ता भएकाले किशोरी बेपत्ता हुनुमा प्रहरी हवल्दार जोशीको हात रहेको किशोरीका आफन्तहरुले आरोप लगाएका छन् । किशोरी बेपत्ता भएकै दिन स्थानीयहरुले जोशीलाई दाम्लोले बाँधेर कुटपीट समेत गरेका थिए ।
असोज २५ गते राति नै जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली पुगेपछि प्रहरी हवल्दार जोशीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए ।

