एसपी बसुन्धरा खड्का भइन् उत्कृष्ट विपद व्यवस्थापक, मुख्यमन्त्री लामाले गरे सम्मान
काठमाडौं – जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख प्रहरी उपरिक्षक (एसपी) बसुन्धरा खड्का पुरस्कृत भएकी छिन् ।
६९ औं प्रहरी दिवसका अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा आयोजित विशेष समारोहमा एसपी खड्कालाई बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले पुरस्कृत गरेका थिए ।
काभ्रे प्रमुख एसपी खड्काले अविरल वर्षाका कारण समग्र काभ्रे जिल्लाको विपद व्यवस्थापनको क्षेत्रमा पुर्याएको उल्लेखनिय योगदानको उच्च मूल्याङ्कन गर्दै कदर स्वरुप उत्कृष्ट विपद व्यवस्थापक पुरस्कार र कदर पत्र प्रदान गरिएको हो ।
खड्काले विपतका अवस्थामा जिल्लाको कमाण्ड गर्दै काभ्रेका विभिन्न क्षेत्रबाट घाइते तथा बाढीपीडितहरुको उद्धार गरेकी थिइन् ।
गत महिनाको बाढीले सबैभन्दा बढी मानवीय र भौतिक क्षति संघीय राजधानीसँग जोडिएको काभ्रेमा पारेको थियो । काभ्रेका मुख्य सडक र ग्रामीण सडक सञ्जाल ध्वस्त भएको परिवेशमा पनि जिल्लाको नेतृत्व गरेको एक प्रहरी अधिकृतको सफल कमाण्डले कसरी आम जनतालाई उद्धार गर्न सकिन्छ भन्ने उदाहरण बनेकी थिइन्, एसपी बसुन्धरा खड्का ।
जिल्लाका रोशि, तेमाल, चौंरीदेउराली, भुम्लुलगायतका स्थानबाट सयौं जनाको उद्धार गरिएको थियो । प्रमुख जिल्ला अधिकारी २ महिनादेखि बिदामा रहेको अवस्थामा जिल्लाबासीमा परेको प्राकृतिक विपत्तिको उद्धार कार्यको कमाण्ड गरिरहेकी एसपी खड्काले घाइतेहरुको अवस्था हेरि उद्धार गरिएको थियो ।
खड्काको कमाण्डमा काभ्रेमा नेपाली सेनाको हेलिकोप्टरबाट प्राथमिकताका आधारमा स्थानीयको उद्धार गरिएको थियो । वृद्ध, बालबालिका, सुत्केरी तथा बिरामीहरुलाई पहिलो प्राथमिकता दिई उद्धार गरिएकाले घाइतेहरुले उपचार र उद्धार पाएका थिए ।
संयुक्त राष्ट्र संघको उच्च तहमा पुग्ने अधिकृत समेत रहेकी खड्का काभ्रे प्रहरीको कमाण्ड सम्हाल्नासाथ तस्करहरुको जालो च्यात्न सफल भएकी थिइन् ।
नेपाल प्रहरीकी काबिल अफिसरका रुपमा परिचित खड्का यस अघि विभिन्न सम्मान तथा पुरस्कृत भएकी थिइन् ।