ढोरपाटनका मेयरमाथि सहकारीको दुई अर्ब ठगीमा अनुसन्धान सुरु


काठमाडाैं- सहकारीको दुई अर्ब ठगी अभियोगमा पक्राउ परेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई आइतबार राति बागलुङ लगिएको छ । शुक्रवार भारतको नयाँ दिल्लीमा पक्राउ पर्नु भएका उनलाई शनिवार काठमाडौँ ल्याइएकोमा आइतबार साँझ पोखरासम्म विमानमा ल्याइएको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बागलुङ प्रहरीको टोलीले नेपालीलाई बागलुङ गाडीमा लगेको हो । सोही अभियोगमा देवकुमारसँगै पक्राउ पर्नुभएका ओमप्रसाद दर्जीलाई पनि बागलुङ नै लगिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले पहिला मुद्दा बागलुङमा दर्ता भएकाले बागलुङ लगिएको बताए ।

“उहाँ विरुद्ध पहिला यहाँ मुद्दा चलेकाले अनुसन्धानका लागि ल्याएका छौँ । आवश्यक परे कास्की प्रहरीले पनि उहाँलाई लगेर अनुसन्धान गर्ला ।” उनले भने । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीले गरेको अध्ययन अनुसार इमेज बचत तथा ऋण सहकारी बागलुङको एक अर्ब ९० करोडको हिसाब मिलान देखिएको छैन ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले नेपाल ल्याएपछि बागलुङ र कास्कीमा मुद्दा विचाराधीन रहेकाले अनुसन्धानका लागि बागलुङ पठाइएको  जानकारी दिए ।

इमेज बचत तथा ऋण सहकारी कास्कीमा ६४ करोड ८८ लाख ६० हजार चार सय ७९ रुपैयाँ अनियमितता भएको छ । १५ जना प्रतिवादी बनाई कास्की प्रहरीले मुद्दा दायर गरेकोमा यसअघि छ जना पक्राउ परिसकेका छन् । तीमध्ये चार जना धरौटीमा रिहा हुँदा दुई जना पुर्पक्षका लागि थुनामा छन् ।

सहकारी ठगीसम्बन्धी अध्ययन गर्न बनेको संसदीय छानबिन समितिको प्रतिवेदनले देवकुमार पोखराको सूर्य दर्शन सहकारीको पूर्व उपाध्यक्ष रहेको खुलासा गरेको छ । जिबी राईसहितको योजनामा खुलेको यो सहकारीको नेतृत्व गर्न नपाएपछि देवकुमारले आफ्नो टिमसहित बाहिरिएर पोखरा र बागलुङमा एउटै नाममा दुई सहकारी स्थापना गरेका थिए ।

पोखरामा इमेज बचत तथा सहकारी २०६८ मा स्थापना भएको थियो भने बागलुङमा त्यही नाममा २०५९ मा अर्को सहकारी खुलेको थियो । पोखराको इमेजको पुँजी ६५ करोड देखिएकोमा १५ करोड मात्र लगानी गरेको र ५० करोडभन्दा बढी रकम सिस्टममै नदेखाई चलाउने गरेको महानगरको सहकारी महाशाखाको छानबिन प्रतिवेदनले औँल्याएको छ ।

दुवैतिर आफैँ अध्यक्ष भएर काम गर्दा सञ्चालक समितिमा डमी पात्र राखेर काम गरेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । बागलुङ बजारमा केन्द्रीय कार्यालय रहेको इमेज सहकारी बागलुङले गलकोट र बुर्तिवाङमा सेवा केन्द्र चलाएको थियो ।

प्रतिक्रिया