विद्यालयको प्रगतिका लागि विद्यार्थीकाे बलि, व्यवस्थापकका बुवाले गरे यस्तो अपराध


काठमाडाैं- भारतकाे यूपीस्थित हाथरसबाट एउटा अचम्मको घटना बाहिर आएको छ । गत आइतबार यहाँको एक आवासीय विद्यालयको प्रगतिका लागि व्यवस्थापक र उनका तान्त्रिक बुवाले मानवतालाई लज्जित तुल्याउँदै कक्षा २ का विद्यार्थीको बलि दिएका छन् । बिहीबार प्रहरीले घटनाको खुलासा गर्दै म्यानेजर र उनका तान्त्रिक बुवासहित ५ जनालाई जेल चलान गरेको छ ।

हातरसको साहपाउ क्षेत्रको रसगनवा गाउँमा रहेको डीएल पब्लिक स्कुलको आवासीय परिसरमा कक्षा २ मा अध्ययनरत ११ वर्षीय विद्यार्थी कृतार्थ कुशवाहाकाे घाँटी थिचेर हत्या गरिएको छ । घटनाको खुलासा गर्दै सिओ सदाबाद हिमांशु माथुरले विद्यालयका सञ्चालक दिनेश बघेलका बुवा जशोधन सिंहले तान्त्रिक अनुष्ठान गर्ने गरेकाे बताए ।

बच्चाको हत्यापछि विद्यालय व्यवस्थापनले बालकको घरमा फोन गरेर कृतार्थ अस्वस्थ भएको जानकारी गराएको थियो । यसपछि बालकका अभिभावक विद्यालय पुग्दा उनीहरुले कुनै जानकारी पाएनन् । होस्टेल सञ्चालकले कृतार्थलाई उपचारका लागि लिएर गएको भन्दै परिवारलाई भ्रममा पारेका थिए ।

बलि दिने योजना 
विद्यालय सञ्चालकका बुवाले विद्यालयको प्रगतिका लागि बालककाे बलि दिने योजना बनाएको प्रहरीलाई बताए । त्यसपछि योजनाअनुसार आइतबार राति विद्यालयभित्रको हलमा सुतेका विद्यार्थीकाे बलि चढाए । हत्यापछि म्यानेजरले आफ्नो गाडीमा विद्यार्थीको शव फाल्न गएका थिए तर परिवारको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

त्यसपछि प्रहरी घटनास्थलमा पुगेर कृतार्थको शव पछाडिको सिटमा फेला पारेको थियो । त्यसपछि प्रहरीले मृतकको शव पोस्टमार्टम हाउसमा पठाएको थियो । पोस्टमार्टम रिपोर्टमा विद्यार्थीको घाँटी थिचेर हत्या भएको खुलेको छ ।

 

प्रतिक्रिया