हिरासतबाट भागेका सबै थुनुवा पक्राउ, घटना छानबिन गर्न दुई समिति


काठमाडाैं- जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट फरार भएका सबै थुनुवा पक्राउ परेका छन् । मधेश प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय, धनुषाबाट खटिएको प्रहरीको टोलीले हिरासतबाट फरार भएका ९ जनै थुनुवालाई पक्राउ गरेको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

सोमबार बिहान साढे ३ बजे हिरासत कक्षको भेन्टिलेसन फोडेर ९ जना थुनुवा फरार भएका थिए । घटनालगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो भने पाँच जना सोमबार दिउँसो धनुषाको लखौरीबाट पक्राउ परेका थिए । फरार भएका बाँकी विशाल मुखिया र मनिस मुखियालाई सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक तिवारीले बताए ।

प्रहरी हिरासतबाट सिराहा नगरपालिका- १३ का ३३ वर्षीय अभास्करकुमार यादव, जनकपुरधाम उपमहानगरपालिका- २१, रुपैठाका अमितकुमार झा, धनुषाको विदेह नगरपालिका- ७, गिद्धाबेलापट्टीका २६ वर्षीय मनिस मण्डल, २४ वर्षीय रोशनकुमार मण्डल, धनुषाको औरही गाउँपालिका- २ का २३ वर्षीय विशाल मुखिया, जनकपुरधाम उपमहानगरपालिका- १ का १७ वर्षीय सुमित मेस्तर, नगराइन नगरपालिका- २ का १८ वर्षीय मनिा मण्डल र जनकपुरधाम- ४ का २२ वर्षीय विक्की कार्की फरार भएका थिए ।

उनीहरूमध्ये ६ जना लागुऔषध र तीन जना शान्ति सुरक्षा तथा अभद्र व्यवहार मुद्दामा पक्राउ परेका हुन् ।

थुनुवा भाग्नु ठूलो लापर्बाही भएको भन्दै मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ । मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि अचार्यले वरिष्ठ प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङको नेतृत्वमा छानबिन समिति गठन गरेका हुन् ।

घटनाबारे छानबिन गर्न जिल्ला प्रहरी कार्यालय धनुषाले पनि प्रहरी नायब उपरीक्षक रञ्जन अवाको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।

प्रतिक्रिया