शंकर प्रधानको ‘व्यक्तित्व तथा नेतृत्व विकास’ पुस्तक सार्वजनिक


काठमाडौं – लेखक शंकर प्रधान ‘सौर्य’ को ‘व्यक्तित्व तथा नेतृत्व विकास’ पुस्तक सार्वजनिक भएको छ । नेपाल सरकारका पूर्वमूख्यसचिव एवम् पूर्वराजदुत लीलामणि पौडेलले सोमबार एक कार्यक्रमका बिच पुस्तकको लोकार्पण गरेका हुन् ।

संस्कार पब्लिकेसनकी अध्यक्ष सपना श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ‘फ्यामिली फेडेरेशन फर वल्र्ड पिस’ नेपालका अध्यक्ष प्रकाशबाबु थापाले पुस्तकको समिक्षा गरेका थिए । उक्त पुस्तकका लेखक शंकर प्रधानले पुस्तक लेख्नुको उद्देश्य बारेमा आफ्नो धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै पूर्वराजदुत पौडेलले पुस्तकको आवश्यकता र अपरिहार्यताको बारेमा प्रष्ट्याउँदै नेपाली समाजको चेतनास्तरलाई थप उकास्न र व्यक्तिको व्यक्तित्वलाई थप सशक्त एवम् प्रभावशाली बनाउनका निमित्त यस प्रकारका पुस्तकले अहम भुमिका निर्वाह गर्ने बताएका छन् ।

‘व्यक्तिको आवरणले मात्र होइन उनको आन्तरिक आचरण प्रधान कुरा हो,’ उनले भने, ‘आफू भित्रको सबल पक्षलाई मजबुत बनाउनुपर्ने र खराबीलाई निरन्तरको अभ्यासले फ्याक्दै जान सक्नुपर्छ ।’

नेपाली समाजमा बाल्य अवस्थादेखि नै अनेकन बाहनामा बालबच्चाको व्यक्तित्वलाई थिच्दै आउने गरेको र स्वतन्त्रपूर्वक व्यक्तित्व उजागर र प्रष्फुटित हुने मौका र अवसर नदिएर व्यक्तिको सर्वाङ्गिण विकासमा अवरोध पु¥याउँदै आएको पुर्वराजदुत पौडेलले बताए ।

उनले सक्षम, कर्मठ र आदर्श व्यक्तित्व निर्माणका लागि सकारात्मक सोच, निरन्तरको अभ्यास, निरन्तरको सकारात्मक कल्पनाशिलता एवम् ऊर्जाको आवश्यकता पर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा पुस्तक समिक्षकको भूमिका निर्वाह गरेका प्रकाशबाबु थापाले व्यक्तित्व तथा नेतृत्व विकास हर कोहि आफ्नो व्यक्तित्वलाई सशक्त र प्रभावशाली बनाउन चाहनेले पढ्नैपर्ने धारणा व्यक्त गरेका छन् ।

मान्छेको पहिचान उनको पहिरनले मात्र होइन उनको व्यवहार र प्रस्तुतिकरणले समेत निर्धारण गर्ने भएकोले आफ्नो बाह्य आकर्षणसँगै आन्तरिक गुणहरूलाई निखार्न र चम्किलो बनाउन मेहनत गर्नुपर्ने उनले बताए ।

लेखक प्रधानले वर्तमान समयमा पुस्तकको सान्दर्भिकता र आवश्यकताको बारेमा जानकारी गराएका थिए । ‘आजको युग विज्ञापन र प्रतिष्पर्धाको युग पनि हो, यो युगसँगको व्यक्तित्वलाई सामञ्जस्यता मिलाउन सबैले जान्नुपर्ने भएकोले नै यो पुस्तक लेखन प्रति मेरो ध्यान गएको हो,’ उनले भने ।

लेखक प्रधानले मान्छे कस्तो देखिन्छले मात्र होइन कस्तो देखाइन्छ र कति देखाउने भन्ने कुराले पनि अर्थ राख्ने भएकोले उक्त पुस्तकले पक्कै पनि पाठकवर्गमा अपार ज्ञान,सीप र अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा रोटरी क्लब अफ कीर्तिपुरकी अध्यक्ष एवम् ड्रिमप्वाइन्ट इन्स्टिच्युटकी पूर्व प्रशिक्षार्थी राज्यलक्ष्मी वैदारले कार्यक्रममा स्वागत मन्तव्य राखेकी थिइन् ।

नेपाल सरकारका पूर्वमूख्य सचिव एवम् पूर्व राजदुत लीलामणि पौडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विभिन्न व्यक्ति व्यक्तित्वलाई कदर तथा प्रशंसापत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया