कम्बोडिया पठाइदिन्छु भनी ठगी त्रिलोकसहित तीन जना पक्राउ


काठमाडौं – वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया, मलेसिया, दुवई लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा महोत्तरी सानेमा गाउँपालिका-१ घर भई काठमाडौं तिलगंगा बस्ने ४४ वर्षीय त्रिलोक कुमार यादव, खोटाङ रावाबेसी गाउँपालिका-३ घर भई काठमाडौं चाबहिल बस्ने २५ वर्षीय राम प्रसाद रिजाल र सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ घर भई काठमाडौं बौद्ध आरूबारी बस्ने २० वर्षीय सुजन स्याङबो रहेका छन् ।

पक्राउ मध्ये त्रिलोक कुमारले ३ जना पीडितहरूबाट ३ लाख रूपैयाँ, राम प्रसादले ३ जना पीडितहरूबाट २ लाख ४० हजार रूपैयाँ र सुजनले १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले त्रिलोक कुमारलाई काठमाडौं बिजुलीबजारबाट, राम प्रसादलाई काठमाडौं चाबहिलबाट र सुजनलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया